×

वीरगञ्ज । यातायात व्यवस्था कार्यालय पर्सामा कार्यरत दुई जना कर्मचारीले सवारी चालक अनुमतिपत्रको ठेक्का नै लिएको खुलेको छ । यातायात व्यवस्था कार्यालय वीरगञ्ज पर्सामा सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स) खरिद विक्रि हुने गरेको सेवाग्राहीले बताएका छन्  ।

सहायक शाखा अधिकृत संजय साहलाई घुस नबुझाई जतिपटक परीक्षा र ट्रायल दिएपनि पास नहुने र घुस वापत रकम बुझाएपछि सजिलै लाईसेन्स पाइने गरेको सिमराका रोशन लामाले बताए ।

लिखित र ट्रायलको लागि साहले बिचौलिया मार्फत मोटो रकम लेनदेन गरि आर्थिक आतंक मच्चाउदै आएको सेवा लिन जाने प्रत्यक्षदर्शीहरु बताउँछन् ।

यातायात कार्यालयको सवारी चालक अनुमति पत्र शाखामा कार्यरत शाखा अधिकृत संजय साह र कम्प्युटर अधिकृत शेख रेजाउल हकले सवारीको वर्गिकरण अनुसार चालक अनुमतिपत्र वितरणको ठेक्का लिएको त्याहाँस्थित विचौलिया बताउँछन् ।

विचौलियाकाअनुसार कुन वर्गको कति रुपैयाँ लिएर पास फेल गराउने भन्ने ठेक्का दुबैले लिएको र उनीहरुको नाममा विचौलियाहरूले नै रकम असुल्ने गरेको सेवाग्राहीले नाम नबताउने शर्तमा यात्राडेलीलाई बताए । 

साहले आफू नेपाल निजामती कर्मचारी युनियनको नेता रहेको भन्दै नेता, तथा ट्राफिक प्रहरी र अख्तियारसमेतलाई सेटिङमा मिलाई भागभण्डा दिने गरेकोले उनी खुलेयाम रुपमा वार्गेनिङ गरेर लाइसेन्स वितरण गर्दै आएको विचौलीयाले बताए ।

लिखित र ट्रायलको सूचिमा नाम राख्ने र हटाउने गरेको पाएपछि केही समय अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले चासो दिएर त्यस्तो नगर्न पत्राचार नै गरेको थियो । तर उनको सेटिङ् माथिसम्मै भएकोले त्यो पत्रलाई शेखले धोती लगाएका छन् । दुबै जना कर्मचारीका कारण अहिले यातायात कार्यालयलाई दलालको कार्यालयको रुपमा समेत सेवाग्राहीले हेर्न थालेका छन् । 

यातायात कार्यालयको लाइसेन्स फाँटमा पैसा दिनेलाई लिखित र ट्रायलमा पास र नदिनेलाई फेल गराउने जिम्मा  संजय र शेखकै हातमा रहेको विचौलीया बताउँछन् । यस विषयमा सम्पर्क गर्न खोज्दा संजय र शेखसँग सम्पर्क हुन सकेन । कार्यालयका प्रमुख उमेश रेग्मीले यस विषयमा प्रतिक्रिया दिन चाहेनन् ।
 

Back to top