×

तेहरान । इरानका राष्ट्रपति इब्राहिम राइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ । त्यहाँको सेनाले दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेष फेला पारेपछि इरानी अधिकारीहरूले नै यस्तो दाबी गरेका हुन् । आइतबार इब्राहिम रायसी र अधिकारीहरू चढेको हेलिकप्टर ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भयो।

हेलिकप्टरको भग्नावशेष भेटिएपछि इरानका राष्ट्रपति रायसीको मृत्यु भएको बताइएको छ । इरानी राष्ट्रपति इब्राहिम रायसी र उनका विदेश मन्त्री पहाडी क्षेत्र र हिउँ परेको मौसममा हेलिकप्टर दुर्घटनाको सिकार भएका हुन । 

दुर्घटनामा राष्ट्रपति राईसी चढेको हेलिकप्टर पूर्ण रुपमा जलेको छ । हेलिकप्टरमा सवार सबै यात्रुहरूको मृत्यु भएको अनुमान छ । दुर्घटनाग्रस्त हेलिकप्टर हराएपछि सोमबार बिहानै पूर्वी अजरबैजान प्रान्तको भग्नावशेषमा पुग्न उद्धारकर्ताहरूले रातभर हिउँ, आँधी र कठिन भूभागमा खोजी गरेका थिए । ‘हामीले भग्नावशेष देख्न सक्छौँ र स्थिति राम्रो देखिँदैन,’ इरानको रेड क्रिसेन्टका प्रमुख पिरहोसिन कोलिभान्डले त्यहाँको सरकारी टिभीलाई भनेका छन् ।

दुर्घटनाग्रस्त हेलिकप्टरको भिडियो पनि इरानी मिडियाले सार्वजनिक गरेको छ । भिडियोमा हेलिकप्टर टुक्रा–टुक्रा भएको र चारैतिर भग्नावशेष परेको देखिन्छ ।

६३ वर्षीय राईसी सन् २०२१ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Back to top