×

वीरगञ्ज । भारतीय प्रहरीले सीमावर्ती शहर रक्सौलस्थित एक व्यक्तिको घरमा छापा मारेर ९४ लाख रुपैयाँ बरामद गरेको छ । ग्यारेजको ताला तोडेर प्रहरीले रक्सौलको एक घरमा छापा मारेको हो । 

ध्रुब गुप्ता र अमरीश गुप्ताको घर र मीठाई पसलमा प्रहरीले छापा मारेको हो । मोतिहारी प्रहरीले गोप्य सूचनाको आधारमा छापामारी गरेर नेपाली ६० लाख र भारतीय ३४ लाख रुपैयाँ बरामद गरेको हो । साथै रुपैयाँ गन्ने मेशिन पनि बरामद भएको मोतिहारी प्रहरीले जनाएको छ । मोतिहारीका प्रहरी उपरीक्षक (एसपी) कन्तेश मिश्रको निर्देशनमा प्रहरीले छापामारी गरेको हो । 

सानो व्यवसाय सञ्चालन गर्ने ध्रुब गुप्ता र उनका छोरा अमरीश गुप्तासँग लाखौ रकम कसरी आयो भन्नेमा प्रहरीले अनुसन्धान गरीरहेको छ । मीठाई पसल सञ्चालन गर्ने उनीहरुको घरबाट रकम फेला परेपछि प्रहरीले उनीहरुको पसलमा पनि छापा मारेको थियो ।

रक्सौल नागा रोडका ध्रुब गुप्ता र अमरीश गुप्ता हुण्डी कारोवारमा पनि संलग्न रहेको तार वीरगञ्ज गहवास्थित दुर्गा सिनेमा हल नजिकै घर रहेका मसालाको कारोबार गर्ने उमेश तेलीसँग जोडिएको भारतीय प्रहरीको उच्च स्रोतले जनाएको छ ।

नेपालबाट हुण्डी कारोबारमा मसालाको व्यवसाय गर्दै आएका तेलीले नै सहयोग गर्ने गरेको उक्त स्रोतले जानकारी दिएको हो । 
 

Back to top