×

वीरगञ्ज । आज वैशाख २६ गते बुधवार मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ ।

मातातीर्थ औँशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।

मातातीर्थ औँशीका दिन बिहानै उठेर नुहाएपछि आफ्नी आमालाई नयाँ लुगा, मीठा तथा तागतिला खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा काठमाडौं चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा ठूलो मेला लाग्छ । माता तिर्थ औँशीको अवसर पारेर आज चन्द्रगिरी नगरपालिकाले सार्वजनिक विदा नै दिएको छ ।

आमाको लागि मीठा परिकार किन्नेहरुको चापले गर्दा आज मिठाई तथा फलफूल पसलहरुमा भीड हुने गर्दछ । आजको दिन आमालाई मीठा खानेकुरा खुवाउनको लागि धेरै जना घर तथा माइत जाने क्रम पनि बिहानैदेखि चलिरहेको छ ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राममार्फत पनि धेरैले आमाप्रति सम्मान व्यक्त गरिरहेका छन् ।

मातातीर्थ औँशीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तिर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्दछन् ।

जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरु अचम्मित भए । गोठालाले पुनः अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमशः हराउँदै गए ।

ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औंशी थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए । गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे ।

हरेक वर्ष उक्त औंशीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो ।

यसरी हरेक वर्ष आमा नहुनेहरुले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठामीठा खाद्यपदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।

आमा, जसले आफ्ना सन्तानहरुलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन्, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन् ।

देवीको प्रतिरुप अनि ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहने पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन

Back to top