×

बिहारका पूर्वउपमुख्यमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता सुशील कुमार मोदीको निधन भएको छ । उनी ७२ वर्षका थिए र पछिल्लो केही वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका थिए । 

बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले एक्समा पोस्ट गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । यसअघि लोकसभा चुनावको घोषणापछि सुशील मोदीले आफू पछिल्लो छ महिनादेखि क्यान्सर रोगसँग लडिरहेको र लोकसभा चुनावमा धेरै गर्न नसक्ने बताएका थिए ।

मोदीले सन् १९७१ देखि विद्यार्थी राजनीति सुरु गरेका थिए । उनी त्यतिबेला पटना विश्वविद्यालय संघको ५ सदस्यीय क्याबिनेटको सदस्यमा निर्वाचित भएका थिए । सन् १९७३ मा उनी महामन्त्री चुनिए ।

जेपी आन्दोलनको प्रभावमा आएपछि उनले बिचमा नै पोस्ट ग्राजुएट छाडेका थिए । आपत्कालमा उनी १९ महिला जेलमा बसेका थिए । सन् १९७७ देखि १९८६ सम्म उनी अखिल भारतीय विद्यार्थी परिषद्मा महत्त्वपूर्ण पदमा रहे ।

 सन् १९९० मा मोदी पटना केन्द्रीय विधानसभा क्षेत्रबाट विधानसभामा पुगेका थिए । सन् १९९५ र २००० को चुनावमा पनि उनले यही सिटबाट जितेका थिए । सन् २००४ मा उनी भागलपुर लोकसभा क्षेत्रबाट चुनाव जितेका थिए ।

सन् २००४ मा उनले सांसद पदबाट राजीनामा दिँदै विधान परिषद्मा चुनिए । उनी उपमुख्यमन्त्री पनि बने । यसबिच उनले पार्टीमा अलग–अलग भूमिका सम्हालेका थिए ।

Back to top