×

वीरगञ्ज । ‘जसरी पानी बिनाको माछा तड्पीन्छ, त्यसरी नै मन्त्री बिना उपेन्द्र जी बाँच्न सक्नुहुन्न’, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर बनेको जसपाका उपमहासचिव प्रदीप यादव भन्छन्, ‘उहाँले मन्त्री बन्नका लागि पार्टीलाई प्राइबेट कम्पनी सरह प्रयोग गर्नुभएको छ । मन्त्री बन्नका लागि उहाँ पागल बन्नुभएको छ ।’

सोमवार बेलुका प्राइम टाइम्स एच डी.मा जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमालासँग कुराकानी गर्दै प्रदीप यादवले योजना बेचबिखन हुने गरेको आरोप लगाए । उनकाअनुसार १० प्रतिशत कमिशन जम्मा गरेकै भरमा योजना र बजेट बेचिने गरेका छन् । उनले भने, ‘एउटै व्यक्तिको नाममा पर्सादेखि सर्लाहीसम्म योजना गएका छन् । यो कसरी सम्भव छ ? यहाँ योजना पाउनका लागि वडाअध्यक्ष, मेयर, विद्यायक देखि सांसदसम्म रोइरहेका छन् । तर निर्वाचित जनप्रतिनीधिले नपाउने योजना विचौलीयाहरुले कमिसन दिएकै भरमा पाउँछन् ।’ 

पर्साको निर्वाचन क्षेत्र नमबर १ बाट निर्वाचित सांसद यादवले आफ्नै क्षेत्रमा पनि सय भन्दा बढी योजना बेचिएको बताए । योजनाको किनबेच लगायतका विषयमा अख्तियार जानकार भएर पनि कानमा तेल हालेर बसेको आरोप यादवले लगाएका छन् । 

जसपा विभाजनमा प्रचण्ड र ओली लागेको कुरामा उनले कुनै सत्यता नरहेको दाबी गरे । पहिलैदेखिको तयारीअनुरुप तानाशाह शाशन नसहने निचोडमा पुगेर निर्णय लिइएको यादवको भनाई छ । 

‘उपेन्द्र जी को मनमा पार्टी चलाउने र विकास गर्ने कुनै चाहना नै छैन । खाली २/४ वटा सिट जित्ने, उपप्रधानमन्त्री भइरहने र आफ्नो दोकान चलाउने मात्रै उहाँको चाहना हो’ यादवले थपे, ‘उहाँलाई पालीका, क्षेत्र, जिल्लादेखि प्रदेशका हरेक कार्यक्रममा आफै प्रमुख अतिथी बन्नुपर्छ । अरु कोही बन्यो भने रिसाउनुहुन्छ । सबै प्रशिक्षण, बैठकमा आफै जानुपर्छ । अरु गएपछि आफुभन्दा ठूलो नेता बन्छ भन्ने उहाँलाई डर छ । कार्यक्रमको ब्यानरमा पनि उहाँको सिंगल फोटो हुनुपर्ने ।’

मधेशी जनताकै मतबाट निर्वाचित भएर मधेशलाई नै गाली गर्ने गरेको आरोप पनि यादवले उपेन्द्र यादवमाथि लगाएका छन् । उनले भने, ‘उहाँले आफ्नो च्याम्बरमा आफ्ना चाटुकारलाई राखेर मधेशी जनतालाई गाली गर्नुहुन्छ । उहाँलाई गणेश परिक्रमा एकदम मन पर्छ, त्यसैले वरीपरी घुम्ने र गणेश परिक्रमा गर्नेलाई इज्जत र सम्मान गर्नुहुन्छ तर हामी जनमत भएका नेतालाई सम्मान, इज्जत गर्नुहुँदैन ।’
 

Back to top