×

वीरगञ्ज । बारामा औद्योगिक बहुप्रकोपीय जोखिम नियन्त्रणमा पूर्व तयारी र प्रतिकार्य सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० गण पिलुवा र जितपुर सिमरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा अभिमुखीकरण सम्पन्न भएको हो ।

बारा पर्सा औद्योगिक कोरिडोरमा रहेका उद्योग तथा कलकारखानामा हुन सक्ने सम्भावित जोखिमको पहिचान र जोखिम न्युनिकरणका लागि अपनाउन सकिने उपायका बारेमा सचेत बनाउने अभिप्रायले अभिमुखीकरणको आयोजा गरिएको सशस्त्र प्रहरी नेपाल नम्बर ४० गण पिलुवाका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले जानकारी दिए । गण्पती क्षेत्रीकाअनुसार औद्योगिक जोखिम न्युनिकरणका साथै श्रमिकहरुको सुरक्षाका विषयमा अभिमुखीकरण केन्द्रीत थियो । 

श्रमिकको जीवन सुरक्षाका  लागि उद्योगले सुरक्षा मापदण्ड अपनाउनुपर्नेमा जोड दिँदै उद्योगले आवश्यक पूर्व तयारी गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरुले ध्यानाकर्षण गराएका थिए । साथै उद्योगमा हुन सक्ने जोखिमका प्रकारको पहिचान गरी समाधानका उपाय तथा घाइते भएमा प्राथमिक उपचारको व्यवस्था गरी अस्पतालसम्म पु-याउने अवस्थाको सृजना गर्नुपर्ने वक्ताहरुको भनाई थियो । सकेसम्म जोखिम नै हुन नदिने गरी सतर्कता अपनाउन पनि उद्योगीलाई आग्रह गरिएको थियो । 

सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) दिपेन्द्र साहले शुक्रवार अभिमुखीकरणको उद्घाटन गरेका थिए । डिआईजी साहले सीमा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणका साथै सामाजिक कार्यमा पनि सशस्त्र प्रहरीको भूमिकालाई नजरअन्दाज गर्न नमिल्ने बताए । औद्योगिक जोखिम जस्तो संवेदनशिल विषयलाई उद्योगहरुले खासै प्राथमिकता नदिएको हुँदा गम्भिर भएर पूर्वतयारी गर्नुपर्नेमा उनले जोड दिएका थिए । 

शनिवार बाराकै एक उद्योगमा कृतिम आगलागीको घटना बनाई आगलागीबाट जोगिने उपायका बारेमा प्रदर्शनी गरिएको थियो । सैद्धान्तिक ज्ञान मात्रै नभएर व्यवहारिक रुपमै सिकाउने अभिप्रायले उद्योगमै पुगेर जोखिमबाट जोगिने उपायका बारेमा जानकार गराइएको सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले यात्रा डेलीसँगको टेलिफोन संवादमा बताए । उनकाअनुसार उद्योगमै गएर गरिएको प्रदर्शनले अभिमुखीकरणको प्रभावकारितालाई विश्वसनीय बनाएको छ । 

विभिन्न साना, ठूला गरी ४९ वटा उद्योगका प्रतिनीधिको सहभागिता रहेको अभिमुखीकरणमा गृहमन्त्रालय अन्र्तगतको विपद् तथा उद्धारका सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बहादुर बस्नेत, बिपद् विज्ञ ईन्जीनियर प्रणब दाहालले औद्योगिक जोखिमका विविध आयामसँगै जोखिम नियन्त्रण तथा पूर्वतयारी एवम् प्रतिकारका लागि गर्नुपर्ने सावधानीका बारेमा सचेत गराएका थिए । 

शनिवार अभिमुखीकरणको एक कार्यक्रमका बीच समापन गरिएको छ । समापन समारोहलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सुरक्षा मापदण्डलाई पालना गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । साथै सशस्त्र प्रहरीले आयोजना गरेको अभिमुखीकरण उपयोगी रहेको बताउँदै उनले आगामी दिनमा पनि जीवनोपयोगी तालिम तथा अभिमुखीकरण आयोजना गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । 

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, उद्योगी एवम् समाजसेवी सुरेश रुंगटा, नेपाल आयल निगम अमलेखगञ्जका इन्जिनियर प्रशान्त भट्टराई, नागरिक उड्यन प्राधिकरण कार्यालय सिमरा बाराका बरिष्ठ अधिकृत सुनिल मण्डल, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का लगायतको उपस्थिती रहेको थियो । 


 

Back to top