×

मध्य–युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । बन्धुकधारीले उनलाई धेरै पटक गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार उक्त घटनापछि प्रधानमन्त्री फिकोलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएकोमा अवस्था चिन्ताजनक भन्दै त्यहाँबाट हेलिकप्टरमा बान्स्का बाइस्ट्रिकाको प्रमुख ट्रमा सेन्टरमा लगिएको छ ।

मध्य स्लोभाक सहर ह्यान्डलोभामा आयोजित सरकारी बैठकपछि बुधवार दिउँसो गोलाबारी भएको थियो । ती सन्दिग्ध बन्दुकधारी बैठक भएको सांस्कृतिक केन्द्रबाहिरको सडकमा प्रधानमन्त्रीलाई अभिवादन गर्न पर्खिरहेका मानिसहरूको भीडमा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिकोको आधिकारिक फेसबुक पेज र उनको पार्टीको वेबसाइटमा पोस्ट गरिएको एक बयानमा आक्रमणलाई ‘हत्याको प्रयास’ भनिएको छ । ‘उनी धेरै पटक गोली हानिएको थियो र हाल अवस्था चिन्ताजनक छ । अर्को केही घण्टा उनको जीवनको लागि निर्णायक हुनेछ,’ विज्ञप्तिमा भनिएको छ। सन्दिग्ध केही व्यक्तिलाई पक्राउ गरिएको छ ।

स्लोभाकका श्रम मन्त्री एरिक टोमासका अनुसार आक्रमणमा अरू कोही पनि घाइते भएका छैनन् । स्लोभाकियाकी राष्ट्रपति जुजाना चापुटोभाले यस ‘क्रूर आक्रमण’बाट आफू स्तब्ध भएको बताएकी छन् ।

Back to top