×

वीरगञ्ज । सप्तरीस्थित नेपाल बैंक लिमिटेडमा लुटपाटको असफल प्रयास भएको छ । लुटपाटका क्रममा बैंकमा खटिएका सुरक्षा गार्डको हत्या समेत गरिएको छ ।

जिल्लाको सप्तकोसी नगरपालिका – १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका बिहीबार बिहान चोरीको प्रयास भएको हो । सो क्रममा त्यहाँ खटिएका सुरक्षा गार्ड ५५ वर्षीय परशुराम फुयाँलको हत्या गरिएको हो । मृतक फुयाँल सप्तकोसी नगरपालिका- २ का स्थायी बासिन्दा हुन् ।

सप्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डिराज न्यौपानेका अनुसार बिहीबार बिहान ३ बजेर १८ मिनेटको समयमा बैंक लुट्न प्रवेश गरेका एक जना चोरले सुरक्षा गार्ड फुयाँलको खुकुरीले घाँटी रेती हत्या गरेका थिए । फुयाँलको हत्या भएको दृश्य सिसिटिभी क्यामेरामा समेत रेकर्ड भएको छ ।

स्थानीयहरूले बिहान खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको डिएसपी न्यौपानेले जानकारी दिए । हत्या गर्ने चोरले बैंकमा लकर तथा काउन्टर तोडफोड गरेर पैसा लुट्ने प्रयास पनि गरेको न्यौपानेले बताए । यद्यपि लकर नटुटेपछि चोर रित्तै हात बैंकबाट फर्केको सिसिटिभी फुटेजमा देखिएको उनले बताए । घटनामा संलग्न भएका आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको उनको भनाई छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाएर घटनास्थलको अनुसन्धान गरी शव पोस्टमार्टमको लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मधेसमा पछिल्लो समय बैंकमा लुटपाटका घटनाहरू बढेका छन् । यसअघि झन्डै एक साता अगाडि वीरगञ्जको बाइपास रोडमा रहेको नबिल बैंकको शाखामा समेत चोरी भएको थियो । पाँचदेखि सात जनाको समूहमा आएका चोरहरूले बैंकमा भित्र रहेको बाकसबाट एक करोडभन्दा बढी रकम चोरी गरेका थिए । प्रहरीले तिन जना चोरलाई नियन्त्रणमा लिए पनि हालसम्म लुटेको रकम भने भेटिएको छैन । 

Back to top