×

वीरगञ्ज । नेकपा एमाले पर्साको उपाध्यक्षसहित पदाधिकारी चयनका लागि शुक्रवार हुने भनिएको निर्वाचनमा विवाद भई कार्यकर्ताहरूबिच कुटाकुट भएको छ ।

निर्वाचन कमिटीले जबरजस्ती निर्वाचन गराउन खोजेपछि वीरगञ्ज महानगरपालिका – २० वडाध्यक्षसमेत रहेका सह-सचिव पदका उम्मेदवार राम किशोर सिंह परागले विरोध गर्न खोज्दा उनी माथि आक्रमण भएको थियो ।

निर्वाचनमा सचिव पदका उम्मेदवार नवराज शर्माका अनुसार आक्रमणका क्रममा घाइते भएका सिंहको नाकमा चोटपटक लागेको, जस कारण नाक फुटेको छ । सिंह नेशनल मेडिकल कलेजमा उपचार पश्चात् अहिले घर फर्केका छन् ।

एमाले पर्साको शुक्रवार हुने भनिएको निर्वाचनमा धाँधली गरिएको भन्दै उपाध्यक्ष पदका उम्मेदवार लालबाबु शेख पक्षधरले दिउँसै निर्वाचन समितिको कोठामा तालाबन्दी गरेको थियो । विरोध गर्दा समेत निर्वाचन समितिले जबरजस्ती मतदान गराउन खोजेपछि त्यसको प्रतिवादमा उत्रिदा अर्को पक्षले धाँधली गर्न खोजेपछि कार्यकर्ताहरूबिच कुटाकुट भएको शर्माले बताए ।

अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका डा. विश्वम्भर शर्मा पक्षकाले जबरजस्ती मतदान गराउन खोजेपछि कुटाकुट भएको शर्माले बताए । इतर पक्षका अन्य नेताहरूमाथि पनि हातपात भएको उनले बताए ।

यता अध्यक्ष डा. शर्मा पक्षकाले भने निर्वाचन समितिले नियमसङ्गत प्रक्रिया पुरा गरेर निर्वाचन गराउन खोज्दा इतर पक्षका केही कार्यकर्ताले निर्वाचन समितिको कोठामा पसेर जबरजस्ती तोडफोड गर्न थालेपछि त्यसको प्रतिवादमा उत्रिदा कार्यकर्ताहरूबिच हानाहान भएको दाबी गरेको छ ।

Back to top