×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । बारास्थित इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) पूर्ण बिसीले हराएको पेस्तोल अझै नभेटिएको बुझिएको छ ।

बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेका अनुसार सोमबार राती हराएको अटोमेटिक पेस्तोल आज बुधवारसम्म पनि भेटिएको छैन । 

सोमबार राति गाँजा तस्कर समात्न गएको टोलीको नेतृत्व गरिरहेका वरिष्ठ सई बिसीबाट पेस्तोल हराएको थियो । हराएको ठाउँमा खोजी जारी राखिए पनि पेस्तोल अझै नभेटिएको डिएसपी न्यौपानेको भनाई छ । ‘टोलीले खोजी कार्यलाई जारी राखेको छ, अहिलेसम्म भेटिएको छैन,’ डिएसपी न्यौपानेले भने ।

गाँजा तस्करी भइरहेको सूचना आएपछि वरिष्ठ सई बिसीको टोली अपरेसनमा खटिएको थियो । अप्रेसनका क्रममा प्रहरीले एक जना मान्छेलाई समेत नियन्त्रणमा लिएको थियो । तर गाँजा भेटिएको थिएन ।

गाँजा नभेटिएको भन्दै फर्किएको प्रहरी टोली कार्यालयमा आइसकेपछि पेस्तोल हराएको भन्दै पुनः खोजीका लागि गएको थियो । त्यस क्रममा गाँजा भेटिएको तर पेस्तोल नभेटिएको डिएसपी न्यौपानेको भनाइ छ ।

‘हराउने बित्तिकै रातिदेखि नै पेस्तोलको खोजी भएको हो । सो क्रममा १२ किलो गाँजा भेटियो ।’ डिएसपी न्यौपानेले भने । पेस्तोलमा १० राउन्ड गोली लोड भएको थियो ।

Back to top