×

वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिकामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ स्थित हरिहरपुर गाउँमा बुधवार भएको आगलागीमा पाँच घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लङ्गडीका प्रहरी नायव निरीक्षक (सई) तोजेन्द्र बिसीका अनुसार स्थानीय योगेन्द्र साहको घरबाट सुरु भएको आगलागी बढ्दै जाँदा अन्य पाँच जनाको घर र नजिकै रहेको ब्रह्म बाबाको रुख पनि जलेको छ ।

आगलागीबाट योगेन्द्र साहसहित भरत साह कानु, हरिन्द्र साह कानु, लक्ष्मी साह कानु र सेठ साह कानुको घर जलेर नष्ट सई बिसीले बताए । घरसँगै त्यहाँ रहेको फर्निचर, अनाज, कपडा लत्ता, गरगहना समेत जल्दा २० लाख रुपैयाँ बराबरको क्षति भएको बिसीले जानकारी दिए ।

आगो लाग्ने कारण भने अहिलेसम्म खुल्न नसकेको उनले बताए । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र पोखरिया नगरपालिकाबाट गएको वरुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । धोबिनी गाउँपालिकासँग आफ्नो वारुण यन्त्र नहुँदा पोखरियाबाट मगाउनु परेको बिसीले बताए ।

Back to top