×

वीरगञ्ज । नेपाल र कतारबिच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।

कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज सोल्टी होटेलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरूको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबिच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यसै गरी युवा तथा खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालय स्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारी स्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन् ।

यसै गरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्सका बिचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकारतर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरे ।

Back to top