×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । विद्युत्को तार सर्ट भई भएको आगलागीमा झन्डै ५४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिका – १७ स्थित अलौँ गाउँमा मङ्गलवार बिहान स्थानीय महेन्द्र सहनीको फुसको घरमा विद्युत्को तार सर्ट हुँदा अचानक भएको आगलागी फैलिएर ५३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आगलागीमा महेन्द्र सहनीको घरसहित अन्य ६ जनाको घरमा समेत पूर्ण रूपले जलेर नष्ट भएको छ । बिहान ३ बजेदेखि सुरु भएको आगलागी स्थानीय, वीरगञ्ज महानगरपालिकाबाट गएको वारुण यन्त्र (दमकल) र प्रहरीको सहयोगमा ५ बजेको करिबमा पूर्ण रूपले नियन्त्रणमा आएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए । 

आगलागीबाट महेन्द्र सहनी सहित मैना सहनी, वीरेन्द्र सहनी, तुफान सहनी, फलदेव सहनी, अभय सहनी र अदालत साहको घर र त्यहाँ रहेका अन्नपात, लत्ता कपडा , सरसामान, सुनचाँदीका गरगहना, नगद, चौपाया लगायत जलेर पूर्ण रूपले नष्ट भएको डिएसपी थापाले बताए ।

Back to top