×

वीरगञ्ज । श्री हनुमान जयन्ती आज चैत्र शुक्ल पूर्णिमा, राम दूत हनुमानको जन्म जयन्तीका रूपमा मनाइँदै छ ।

सनातन धर्मका अनुयायीहरूले हनुमानको जन्म जयन्ती मनाउँदै आएका छन् । आज विशेष पूजा अर्चना गरेर हनुमानको जन्म जयन्ती मनाइन्छ ।

चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ ।

यस अवसरमा वीरगञ्जस्थित महावीर स्थान मन्दिर, श्री रामजानकी मन्दिर लगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिँदै छ । भगवान् हनुमानको जन्मोत्सवको अवसरमा महावीर स्थान मन्दिरको प्राङ्गणमा आज साँझ विशेष महाआरतीको समेत आयोजना गरिएको छ । झन्डै ९ दशकदेखि प्रत्येक मङ्गलवार हुने आरतीलाई हनुमान जयन्तीको अवसरमा महाआरतीको रूपमा गरिने वीरगञ्ज – ६ का वडाध्यक्ष जयप्रकाश शाहले बताए ।

हनुमानको पूजा आराधना गरेमा रोग व्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्त्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ ।

मङ्गलवार र शनिवार हनुमानको विशेष आराधना गर्ने गरिएकामा यस वर्ष हनुमान जयन्ती मङ्गलवार नै परेकाले पनि विशेष अवसर मानिएको छ । आज हनुमानको आराधना गर्नु अझ राम्रो हुने मान्यता छ ।

रामायण कथामा हनुमान सबैभन्दा लोकप्रिय, दयावान् अनि शक्तिशाली पात्रका रूपमा चित्रण गरिएको छ । रामभक्त हनुमानलाई बल र साहसको पर्यायका रूपमा मानिएको छ ।

Back to top