×

माले । मालदिभ्समा आइतबार भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेसनल काङ्ग्रेसले भारी बहुमत हासिल गरेको छ ।

आफ्नो देशबाट भारतीय सेना हटाउने राष्ट्रपति मुइज्जुको सत्तारुढ दलले संसद्को ९३ सिटमध्ये ६७ सिट जित हासिल गरेर इतिहास कायम गरेको छ । मतगणना अझै जारी छ । यो चुनाव बेइजिङ समर्थक राष्ट्रपति मुइज्जुका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।

मालदिभ्समा प्रभाव बढाउन खोजिरहेका भारत र चीनले संसदीय निर्वाचनको नतिजालाई नजिकबाट हेरिरहेका छन् । संसदीय निर्वाचनमा प्रमुख प्रतिपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीले १२ सिट र स्वतन्त्र उम्मेदवारले १० सिट जितेका छन् । मालदिभ्स विकास गठबन्धन र जहुरी पार्टीले एक–एक सिट पाएका छन् ।

स्थानीय समय अनुसार हिजो बिहान ८ बजे सुरु भई साँझ साढे ५ बजेसम्म चलेको थियो । साँझ साढे ५ बजेसम्म मतदान सकिएसँगै निर्वाचन अधिकारीहरूले देशभरका ६ राजनीतिक दल र स्वतन्त्र समूहले ९३ सिटका लागि ३ सय ६८ उम्मेदवारलाई उम्मेदवारी दिएका थिए । पिपुल्स नेसनल काङ्ग्रेसले ९० सिटमा उम्मेदवारी दिएको थियो भने प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले ८९ सिटमा उम्मेदवारी दिएको छ ।

मालदिभ्स हिन्द महासागरमा रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा अवस्थित छ । यस्तो अवस्थामा भारत र चीनले मालदिभ्समा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका छन् । मुइज्जु राष्ट्रपति बनेपछि भारत र चीनबीचको द्वन्द्व बढेको थियो । यसअघि निर्वाचित भए लगत्तै मुइज्जुले चीन समर्थक अडान अपनाए र देशको एउटा टापुमा तैनाथ भारतीय सेना हटाउन काम गरेका थिए ।

राष्ट्रपति पदका लागि मुइज्जुको चुनावी अभियान ‘एक्जिट इन्डिया’ भन्ने विषयवस्तुमा आधारित थियो, जसमा उनले पूर्व राष्ट्रपतिमाथि भारतलाई धेरै महत्त्व दिएर राष्ट्रिय सार्वभौमसत्तामा सम्झौता गरेको आरोप लगाएका थिए । मालदिभ्समा कम्तीमा ७५ भारतीय सैनिक तैनाथ गरिएको थियो र भारतले उपहार  दिएका दुई वटा विमान चलाएको थियो र साथै समुद्रमा फसेका वा प्रकोपको सामना गरिरहेका मानिसहरूको उद्धार कार्यमा सहयोग पुर्‍याएको थियो । मुइज्जुले यी सेनाका कर्मचारीहरूलाई हटाउने दिशामा कदम चालेको थियो ।

Back to top