×

फाइल तस्बिर ।

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (मङ्गलवार) विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि मङ्गलवार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश संसद् सचिवालयले जनाएको छ । 

आफूलाई विश्वासको मतको लागि कुनै समस्या नरहेको मुख्यमन्त्री यादवको दाबी छ । ‘हामी गठबन्धनमा छौँ, विश्वासको मतको लागि कुनै समस्या छैन,’ मुख्यमन्त्री यादवले भने, ‘मलाई आरामले विश्वासको मत प्राप्त हुन्छ ।’

केन्द्रमा नयाँ गठबन्धन बनेपछि मधेस सरकारबाट काँग्रेस बाहिरिएको थियो । प्रदेश सरकारबाट काँग्रेस बाहिरिएको र एमाले सरकारमा सहभागी भएपछि प्रदेश प्रमुख यादवले विश्वासको मत लिन लागेका माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले जानकारी दिए । 

१५ महिनाअघि मुख्यमन्त्री नियुक्त भएका यादवले चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।

यसअघि केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस सरकारबाट गएको चैत ५ गते काँग्रेस बाहिरिएको थियो । बाहिरिएपछि चैत ९ गते काँग्रेसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।

जसपा नेता यादव २७ पुस २०७९ मा नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा र नेपाल सङ्घीय समाजवादी पार्टीका ६३ प्रदेशसभा सदस्यको समर्थनमा मधेस सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतको लागि ५४ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । हाल काँग्रेस र जनमत पार्टी यादवको विपक्षमा छन् । 

मधेस प्रदेशसभामा एमालेका २४, काँग्रेसका २२, जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् ।

Back to top