×

वीरगञ्ज । अघिल्लो वर्ष २०८० नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको नेपाल पत्रकार महासङ्घले बताएको छ । विश्वव्यापी रूपमा देखिएको आर्थिक सङ्कट, प्रविधि र माध्यमको विकाससँगै समग्र पत्रकारिता क्षेत्रमा नयाँ नयाँ चुनौती देखिएका हुन् ।

महासङ्घमा अभिलेख भएअनुसार २०८० सालमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएका छन् । पत्रकारलाई समाचार प्रकाशन प्रसारण भएकै कारण धम्की तथा दुर्व्यवहार गर्ने, आक्रमण गर्ने, गिरफ्तारी गर्ने, सूचना सङ्कलनमा अवरोध गर्ने जस्ता घटना महासङ्घमा अभिलेख भएका छन् । २०७९ सालमा प्रेस स्वतन्त्रता हननका ५१ वटा घटना भएका थिए भने २०७८ मा प्रेस स्वतन्त्रता हननका ७४ घटना भएका थिए ।

यसमा पक्राउका ३ घटना तथा कब्जारअवरोधका ३ वटा घटना भएका छन् । यस अवधिमा १५ जनामाथि आक्रमण भएको छ भने ३० जनामाथि दुर्व्यवहार र धम्की दिइएको छ । महासङ्घको मिडिया मनिटरिङका अनुसार पेसागत असुरक्षाका १२ घटना हुँदा लैङ्गिक हिंसाका एक घटना भएका छन् ।

महासचिव रोशन पुरीले भनेका छन्, ‘महासङ्घमा दर्ता भएका श्रम समस्याहरू बिस्तारै हल हुँदै गए पनि श्रमको दीर्घकालीन समस्या समाधानमा अबका वर्षमा मुख्य ध्यान दिनुपर्ने आवश्यकता छ । सञ्चार क्षेत्रमा देखिएको गम्भीर खालको आर्थिक सङ्कटसँग जुध्ने र प्रविधिलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने चुनौती नयाँ वर्ष सँगसँगै भित्रिएको छ ।’ २०८० साल मा श्रमजीवी पत्रकारले तलब नपाएर विभिन्न सञ्चार गृहमा आन्दोलन गर्नुपरेको थियो ।

 

Back to top