×

वीरगञ्ज । नेपालले भारतबाट बिजुली आयातको अनुमति पाएसँगै सम्भावित लोडसेडिङ टरेको छ । तीन महिनादेखि बार्गेनिङ गरेको भारतले थप तीन महिनाका लागि प्रतिस्पर्धी बजारबाट बिजुली आयात गर्न पाउने अनुमति दिएको छ ।

नेपाल विद्युत प्राधिकरणका निर्देशक चन्दन घोषले ५५४ मेगावाट आयातका लागि भारतले अनुमति दिएको बताए । ढल्केबर-मुजफ्फरपुर ४०० किलोभोल्ट प्रसारणलाइनबाट ५०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट आयात गर्न भारतले अनुमति दिएको हो । तीन महिनापछि नेपालकै आन्तरिक उत्पादन बढेर सरप्लस हुन थाल्छ । सोही कारण तीन महिनाको अनुमति पाए पनि समस्या नहुने प्राधिकरणको भनाइ छ ।

यससँगै नेपालको सम्भावित औद्योगिक र ग्राहस्त दुवैको लोडसेडिङ हुने सम्भावना टरेको छ । आन्तरिक माग पूरा गर्नका लागि भारतबाट करिब ६०० मेगावाट आयात भइरहेको छ । यो परिमाणको बिजुली आयात गर्न नसके नेपालमा ८ देखि १० घण्टासम्म लोडसेडिङ हुने सम्भावना थियो।

प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्जबाट बिडिङ गरेर ल्याउनका लागि भारतसँग सम्झौता भएको छ । ५ वर्षका लागि भएको यो सम्झौता हरेक वर्ष नवीकरण गर्नुपर्छ । मार्च ३१ (चैत १८ गते) यो सम्झौताको म्याद सकिँदै थियो।

म्याद सकिनु अघि नै नवीकरण नभएको भए नेपालले प्रतिस्पर्धी बजारमा बिडिङ गर्न पाउँदैन थियो । नेपाल विद्युत प्राधिकरणले सम्झौता नवीकरणका लागि तीन महिना अघि पठाएको चिट्ठीमा भारतले कुनै प्रतिक्रिया नै दिएको थिएन । बुधबार भारतले तीन महिनाका लागि इजाजत नवीकरण गरिदिएको हो ।

Back to top