×

वीरगञ्ज । विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन् । मुद्दाको आईतवार सुनुवाई गर्दै पर्सा अदालतका न्यायाधीश दीपक खनालको ईजलाशले पाँचै जनासित धरौटी माग गर्ने आदेश दिएको थियो ।

आदेश अनुसार धरौटी बुझाएर बेहुलासहित पाँचै जना तारेखमा रिहा भएका हुन । बारा कलैया उपमहानगरपालिका - ४ बस्ने उमेश साह गोढ (बेहुला), उनका बुवा बच्चालाल साह गोढ, बेहुलाका दाईहरू राकेश कुमार साह, मुकेश कुमार साह र बेहुलाको भिनाजु बारा परवानीपुर गाउँँपालिका - ५ बस्ने रामएकवाल साह धरौटीमा रिहा भएका हुन ।

फागुन २८ गते राति जन्ती लिएर वीरगञ्ज महानगरपालिका - २४ मा आएका बेहुला उमेशसहित पाँचै जनाले सुनको सिक्री नपाएको भन्दै बिहे नै रद्द गरेका थिए ।

सो क्रममा बेहुली पक्षकाहरूसंग वाद-विवाद तथा हातपात समेत गरी विवाह छोडी जान लागेको भन्ने मौखिक सूचनाको आधारमा पर्सा प्रहरीले पाँचै जनालाई पक्राउ गरेको थियो ।

उनीहरू बिरूद्ध बितेको चैत ९ गते जिल्ला अदालत पर्सामा बिबाह समबन्धि कसुरमा मुद्दा दर्ता भएको थियो ।

Back to top