×

वीरगञ्ज । गौतम माविले नेपाली सेनाको सहयोगमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ स्थित दलित प्राविको पुनर्निर्माण गरेको छ ।

श्रीजङ्ग गण वीरगञ्जका प्रमुख सेनानी डायमन्ड कार्की, एलाइड युथ सोसाइटीका अध्यक्ष ओमकुमार झा, गौतम माविका शिक्षक दिनेश क्षत्रीको अग्रसरता र कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा विद्यालयको पुनर्निर्माण गरिएको हो ।

विद्यालयको शौचालयका ढोका, खानेपानी तथा नाला पाइप जडान गरिनुका साथै चुहिने छानामा प्लाइउड राखेर मरम्मत गरिएको थियो । यसैगरी, विद्यालयको नयाँ भवनको मरम्मतसम्भार र रङ्गरोगन गरिएको थियो । सो क्रममा प्राविका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो ।

गापा अध्यक्ष यशवन्त यादवले दलित प्राविको विकास र शिक्षाको स्तरोन्नतिमा पालिकाले काम गरिरहेको बताए । उनले आव २०८१/८० मा सो विद्यालयमा दुईवटा कोठा थप गर्ने बताए ।
दलित प्राविमा २४७ जना दलित बालबालिकालाई तीनजना शिक्षकले अध्यापन गराउँदै आएका प्रधानाध्यापक नवलकिशोर प्रसादले बताए ।

कार्यक्रममा गौतम माविका निर्देशक सोनाम लामा, सहायक सेनानी विकाश महारत, गापा उपाध्यक्ष शर्मिला विष्ट, प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद रौनियार, वडाध्यक्ष अशेश्वर यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरखकुमार रामलगायतको सहभागिता थियो ।


 

Back to top