×

वीरगञ्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय बब्लु पासवान भन्ने गणेश पासवान रहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमारविक्रम थापाले जानकारी दिए ।

काठमाडौँको गोठाटारमा झन्डै डेढ वर्ष अगाडि सर्लाहीका गार्मेन्ट व्यवसायी लाल मोहम्मदको हत्याकाण्डका मुख्य योजनाकार र सुटर रहेका पासवानलाई पर्सा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो । २०७९ असोज ३ गतेका दिन लाल मोहम्मदमाथि गोली प्रहार गरी हत्या गरेदेखि उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए ।

डिएसपी थापाका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतबार राति ११ बजेतिर  वीरगञ्ज – १६ भुटनदेवी मन्दिर क्षेत्रमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिन खोजेको थियो । यद्यपि उनी भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली चलाएर उनलाई नियन्त्रणमा लिएको थियो । त्यसमध्ये एक राउन्ड गोली पासवानको खुट्टामा लागेको डिएसपी थापाले बताए ।

घाइते पासवानलाई नियन्त्रणमा लिएर नारायणी अस्पतालमा उपचार गराई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनको साथबाट प्रहरीले एक थान पेस्तोल, केही राउन्ड गोली र थोरै परिमाणमा लागूऔषधसमेत बरामद गरेको थापाले बताए ।

यसबारेमा थप अनुसन्धान गरी मङ्गलवार बिहान प्रहरीले विस्तृत जानकारी गराउने थापाले बताए ।

लाल मोहम्मदको गोली हानी हत्या भएपछि त्यसमा संलग्न पर्साका महोरम मियाँ, पर्साकै रेहान मियाँ र मकवानपुरकी सुमी भन्ने सुस्मिता स्याङताङलाई प्रहरी २०७९ असोज १४ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो । यद्यपि हत्याकाण्डका मुख्य योजनाकार र सुटर भनिएका पासवान भने फरार रहँदै आएका थिए ।

पासवान वीरगञ्जका उद्योगपति सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् । उनलाई यसअघि पर्सा प्रहरीले नै नियन्त्रणमा लिएको थियो ।

Back to top