×

गत वर्ष सन् २०२३ मा टिकटकले अमेरिकामा १६ अर्ब डलर आम्दानी गरेको रिपोर्ट सार्वजनिक भएको छ । खासगरी किशोर किशोरी तथा युवापुस्ता (जेनेरेसन जेड) का बीचमा व्यापक लोकप्रियताले टिकटकको आम्दानी कीर्तिमानी वृद्धिमा सहयोग गरेको छ ।

अमेरिकामा टिकटकमाथि प्रतिबन्धको सम्भावना बलियो बन्दै गएको समयमा अमेरिकामा कम्पनीले गरेको आम्दानीको रिपोर्ट सार्वजनिक भएको हो ।

अमेरिकाले मुलुकभर टिकटक प्रतिबन्धका लागि संसदबाट विधेयक पारित गरेको छ । ६ महिनाभित्र चिनियाँ स्वामित्व बिक्री नगरेमा अमेरिकामा टिकटक प्रतिबन्ध हुनेगरी प्रतिनिधिसभा (हाउस अफ रेप्रिजेन्टेटिभ) बाट विधेयक पारित भएको हो ।

यसबीचमा फाइनान्सियल टाइम्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार टिकटकको मातृ कम्पनी बाइटडान्सले गत वर्ष विश्वभरबाट १ खर्ब २० अर्ब डलर आम्दानी गरेको छ । यो सन् २०२२ को भन्दा ४० प्रतिशत धेरै हो ।

१७ करोड प्रयोगकर्ता रहेको अमेरिका टिकटकका लागि चीनपछिको ठूलो बजारको रुपमा रहेको छ । जबकि भारतमा भने सन् २०२० मै टिकटकमाथि प्रतिबन्ध लागेको थियो ।

टिकटकको मातृ कम्पनी बाइटडान्स नयाँ–नयाँ मोबाइल एपहरु सार्वजनिक गर्ने कारणले गर्दा एप फ्याक्ट्रीको नामले समेत चिनिन्छ । त्यसैले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप जस्ता सोसल मिडिया प्लाटफर्मको स्वामित्व रहेको मेटासँग यसको प्रतिस्पर्धा छ ।

उक्त रिपोर्ट अनुसार बाइटडान्सले सर्वाधिक वार्षिक आम्दानी गर्ने सोसल मिडिया कम्पनीको रुपमा मेटालाई पछि पार्ने सम्भावना छ । गत वर्ष सन् २०२३ मा मेटा कम्पनीको आम्दानीमा १६ प्रतिशतले वृद्धि भएर १ खर्ब ३४ अर्ब ९० करोड डलर पुगेको छ । जुन बाइटडान्सको भन्दा केहीमात्रै धेरै हो ।

यसैबीच हालैमात्र सार्वजनिक एक अर्को रिपोर्ट अनुसार इन्स्टाग्रामले गत वर्ष सर्वाधिक डाउनलोड हुने सोसल मिडिया एपको सूचिमा टिकटकलाई पछि पार्दै पहिलो नम्बरमा कब्जा जमाएको छ ।

जसअनुसार गत वर्ष इन्स्टाग्राम ७६ करोड ८० लाख पटक डाउनलोड हुँदा टिकटक चाहिँ ७३ करोड ३० लाख पटक डाउनलोड भयो ।

तथापि अमेरिका मात्रैको कुरा गर्दा भने टिकटक नै गत वर्ष सर्वाधिक डाउनलोड हुने सोसल मिडिया एपको रुपमा कायम छ । सन् २०२३ मा अमेरिकामा ४ करोढ ७० लाख पटक टिकटक एप डाउनलोड हुँदा फेसबुक ३ करोड ५० लाख र इन्स्टाग्राम ३ करोड ४० लाख पटक डाउनलोड भएको छ ।

Back to top