वीरगञ्ज । नविकरण नगरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले तीन कम्पनीले पाएको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ।
युनाइटेड टेलिकम लिमिटेड (युटिएल), म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट अनुमति खारेज गरेको प्राधिकरणले सूचना जारी गर्दै जनाएको हो।
तोकिएको समयावधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले ती कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।
नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाका अनुसार युटिएलले २०६० कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए।
ती अनुमति पत्र पाँच वर्षपछि नवीकरण गर्नुपर्नेमा गरेका थिएनन्। प्राधिकरणले कम्पनीहरुलाई नियमानुसार तिर्न/बुझाउनुपर्ने दस्तुर रकम तथा विवरणहरु ३० दिनभित्र बुझाउन निर्देशन पनि दिएको छ।
नबुझाए प्रचलित कानुन बमोजिम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्राधिकरणले चेतावनी दिएको छ।