×

साङ्केतिक तस्बिर ।

हरेक वर्ष मे ३१ तारिखका दिन विश्व स्वास्थ्य सङ्गठनले विश्व धुम्रपान रहित दिवस मनाउने गरेको छ । दिवसमा गरिने विभिन्न कार्यक्रमहरू मार्फत डब्ल्यूएचओ लगयातका सरकारी तथा गैह्रसरकारी संस्थाहरूको उद्देश्य मध्ये एउटा प्रमुख बालबालिकाहरूलाई सुर्तीजन्य पदार्थले उनीहरूको शरीरमा पुर्याउने हानीका बारेमा जानकारी गराउनुका साथै विश्वलाई सुर्तीजन्य मुक्त बनाउने प्रयास गर्नु हुन्छ । 

तथ्याङ्कलाई केलाउने हो भने प्रत्येक वर्ष झन्डै ६० लाख मानिस सूर्तिजन्य रोगबाट ग्रस्त हुनेगरेका छन् र २०२३ सम्म यो बढेर ८० लाखको हाराहारीमा पुग्ने अनुमान छ । नेपालमा २०१९ मा भएको स्टेपवाइज दृष्टिकोण टु सर्वेलेन्स (एसटीइपीएस) सर्वेक्षणका अनुसार १५ देखि ६९ वर्ष उमेर समोहका करिब २९ प्रतिशत वयस्क (४८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला) ले कुनै न कुनै प्रकारको सूर्तिजन्य पदार्थको सेवन गर्ने गरेका छन् ।

धुम्रपानले क्यान्सर, हृदय रोग, स्ट्रोक, फोक्सोको रोग, मधुमेह, र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) निम्त्याउँछ, जसमा एम्फिसिमा र क्रोनिक ब्रोन्काइटिस समावेश छ । धुम्रपानले क्षयरोग, आँखाका केही रोगहरू र रुमेटोइड गठियालगायत प्रतिरक्षा प्रणालीका समस्याहरूको जोखिम पनि बढाउँछ ।

धुम्रपान छाडेपछि देखिने लक्षणहरूमा सुत्न समस्या, चिडचिडापन, चिन्तित वा बेचैन महसुस हुने, निराश वा रिस उठ्ने, स्पष्ट रूपमा सोच्न समस्या हुने जस्ता छन् । 

यदी तपाईँले औषधि तथा निकोटिन चुइङ्गमको सेवन पछि पनि चुरोट/सुर्तीको लत छुटाउन सक्नु भएको छैन भने औषधीसँगै यसको समाधानका लागि पाँच ‘डी’ को पनि सहयोग लिने सकिन्छ ।

१.    डीसट्रयाक्ट (ध्यान विचलित गर्ने): ध्यान विचलित गर्न तपाईंले कुनै गाना सुन्न सक्नु हुन्छ, अथवा मन तातो पानीले नुहाउन सक्नु हुन्छ । त्यस्तै सामान्य व्यायाम गरेर पनि आफूलाई डीसट्रयाक्ट गर्न सक्नु हुन्छ ।
 
२.    डीप ब्रिथिङ् (गहिरो सास फेर्ने): केही समय नाकले लामो-गहिरो सास लिने अनि मुखबाट सास छोड्ने व्यायाम पनि एउटा राम्रो उपाय हो ।

३.    ड्रिंकिङ (पिउने): जति सक्नु हुन्छ पानी/जुस पिउने । पानीले सूर्तीजन्य पदार्थको सेवनको लत छुटाउन सहयोग गर्नुका साथै अरु धेरै रोगहरूबाट पनि तपाईँलाई सुरक्षित राक्छ ।
 
४.    डिस्कसन (छलफल गर्ने): परिवारका सदस्य/साथीभाईसँग कुराकानी गर्ने । नजिक कोही नभए फोन मार्फत कुरा गर्ने ।

५.    डिले (ढिला गर्ने): मुख्यतः बुझ्न पर्ने कुरा, चुरोट/सुर्ती को तृष्णा/इच्छा समुन्द्रको लहर जस्तै आउने जाने गर्दछ । एउटा लहर लगभग १५ मिनेटमा शान्त हुने गर्दछ । तसर्थ हरेक लहरको क्रममा उपरोक्त पाँच ‘डी’ प्रयोग गर्दै जाँदा समय अनि दिनसँगै तृष्णा/इच्छा समाप्त हुन्छ ।

फोक्सो बचाउनुहोस्, जीवन बचाउनुहोस् । धेरै ढिलो हुनु अघि चुरोट छोड्नुहोस् ।

(लेखक भारतको एम्सका एमडी इन्टरनल मेडिसिन चिकित्सक हुन् ।) 

Back to top