×

वीरगञ्ज । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकाको कार्यालयका जिन्सी शाखाका प्रमुख हरीमोहन महतो लगायत त्यस शाखामा कार्यरत सम्पूर्ण कर्मचारीलाई पदमुक्त गरिएको छ ।

गाउँपालिकाको कार्यालयबाट सरसामान चोरी गरेको आरोपमा प्रमुख हरीमोहन महतोलगायत शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई पदमुक्त गरिएको हो । 

गत भदौ २१ गते राती ८ बजेको समयमा गाउँपालिकाको कार्यालयबाट महतोको निर्देशनमा कार्यालय सहयोगी मुन्ना राउत कुर्मी र वडाका सहायक कम्प्युटर अपरेटर धनञ्जयले पालिकाबाट ब्याग, रेनकोट लगायतका सामग्रीहरू चोरी गरी घर लगिरहेको अवस्थामा स्थानीय युवाहरूले पक्राउ गरी सामान फिर्ता राख्न लगाएको स्थानीयहरूले बताएका थिए ।

उक्त कुरा बाहिर आएपछि गाउँपालिका अध्यक्ष सुरेश मेहताले ढाकछोप गरी आफ्नो निकट कार्यालय सहयोगीलाई बचाउन खोजे पनि प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस कार्यमा सहयोग तथा संलग्न रहेका सम्पूर्ण कर्मचारीलाई पदमुक्त गरेका छन् ।

चोरी गरेको आरोपमा आज बैठक बसी न्यायिक समिति संयोजकको अध्यक्षतामा छानबिन कमिटी गठन गरी सात दिन भित्र प्रतिवेदन बुझाउन निर्णय गरिएको अधिकृत कुशवाहाले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहासँग र जिन्सी शाखा प्रमुख हरिमोहन महतोसँग थप जानकारी लिन उनीहरूको नम्बरमा सम्पर्क गर्दा फोन उठेन ।

हेर्नुहोस पालिकाले जारी गरेको विज्ञप्ति 

 


 

Back to top