×

वीरगञ्ज । घरेलु टोली मलेसियामाथि पाहुना टोली नेपालले तेस्रो महिला टी ट्वान्टी अन्तर्राष्ट्रियमा जित हासिल गरेको छ । बिहिबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले हराएको हो ।

जितसँगै नेपालले तीन खेलको महिला टीट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २-१ को अग्रता लिएको छ । 

नेपालले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनायो । मलेसियाका लागि महिराह इज्जाती इस्माइलले ५४ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४४ रनमा अविजित रहिन् । 

विनिफ्रेड दुराईसिंघमले ३८ बलमा २० रन बनाउँदा मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १र१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन बनाईन् ।

नेपालले दोस्रो ओभरमा नै व्यक्तिगत २ रनमा ओपनर कविता कुवँरलाई गुमाएको थियो । तर, दोस्रो विकेटका लागि ज्योती पान्डे र सीता रानामगरबीच ३५ रनको साझेदारीसँगै नेपाल बलियो योगफल तर्फ प्रेरित भएको थियो । 

सिताले ३५ बलमा २१ रन बनाउँदा ज्योतीले २४ बलमा ३ चौकाको सहयोगमा २३ रन बनाईन् । तेस्रो विकेटका लागि सीताराना मगर र ईन्दु बर्माबीचमा ३२ रनको साझेदारी भएसँगै नेपाल बलियो योगफल तर्फ लम्किएको थियो । 

बर्माले ३० बलमा २० रन बनाईन् । इन्दु र कप्तान रुबिना क्षेत्रीका बीचमा तेस्रो विकेटका लागि २१ बलमा २९ रनको साझेदारी गरे । बिन्दु रावल ३ तथा कविता जोशी १ रनमा अविजित रहिन् । 

मलेसियाका लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले समान १र१ विकेट लिए । मलेसियासँगको चौथो खेल आगामी शनिबार रहेको छ । 

Back to top