×

वीरगञ्ज, ७ चैत । भाटभटेनी सुपरमार्केटको नाममा स्क्याम लिंक फैलिएको पाइएको छ । प्रयोगकर्तालाई नयाँ शाखा खुलेको भन्दै सामाजिक सञ्जाल तथा इन्टरनेटमा स्क्याम लिङ्क फैलाइएको हो ।

उक्त लिङ्कमा क्लिक गरेको खण्डमा भाटभेटनी सुपरमार्केटको जस्तो नक्कली वेबसाइटको इन्टरफेस देखिन्छ, जहाँ सबैभन्दा माथि 'बधाई' लेखिएको छ ।

तल उल्लेखित प्रश्नको उत्तर दिएको खण्डमा पाँच हजार रुपैयाँ जित्ने उल्लेख गरिएको छ । त्यसको तल भाटभेटनी सुपरमार्केटमा संलग्न व्यक्तिको फोटो राखिएको छ । त्यहाँ प्रयोगकर्तालाई विभिन्न प्रश्नहरू सोधिएको छ, जसको उत्तर दिएको खण्डमा उनीहरूले पाँच हजार रुपैयाँ जित्नसक्ने भनिएको छ ।

उक्त प्रश्नको उत्तर दिँदा ह्याकरले प्रयोगकर्ताको डिभाइसको एक्सेस पाउँछन् । प्रश्नहरू सजिलो भएकाले जोकोहीले उक्त प्रश्नको उत्तर दिन राजी हुन्छन् ।

त्यस्तै उक्त वेबसाइटमा तलतिर नक्कली प्रतिक्रिया राखिएको छ, जसले गर्दा प्रयोगकर्ता स्क्याममा पर्नसक्ने जोखिम बढी हुन्छ । यसरी प्रयोगकर्तालाई आफ्नो जालोमा पार्दै ह्याकर फिशिङ आक्रमण गर्छन् । यसबाट उनीहरूले बैंक तथा सामाजिक सञ्जालका अकाउन्ट ह्याक गर्नसक्ने साइबर सुरक्षा विज्ञ बताउँछन् ।

सामाजिक सञ्जालबाट सक्याम लिङ्क फैलिएपछि भाटभटेनी सुपरमार्केटले आधिकारिक रूपमा उक्त लिङ्क स्क्याम गर्न फैलाइएको भन्दै त्यस्ता लिङ्क नखोल्न आग्रह गरेको छ ।

Back to top