×

वीरगञ्ज, २४ फागुन । तराई मधेशमा फगुवा अर्थात् होली मुख्य पर्व हो । यो रङहरूको उत्सवमात्र होइन, सद्भाव आत्मीयताको प्रतीक पनि हो । पहाडी र हिमाली क्षेत्रभन्दा तराई/मधेशमा १ दिनपछि यो पर्व मनाइन्छ ।

मधेशमा यसपटक मंगलवार मनाइने भए पनि यो पर्वको उल्लास १ दिनपछाडि धकेलिएको छ । अर्थात् अधिकांशले यसपटक बुधवार होली मनाउने तयारी गरिरहेका छन् ।
होलीमा मांसहारी परिकार खाइने भएकाले बुधवार पनि पर्व मनाउन लागिएको हो । धेरैजसोले मंगलवार माछामासु बार्ने भएकाले खानपानकै लागि यसपटक २ दिन होली मनाउन लागिएको हो ।

तराई/मधेशका सांस्कृतिक मामिलाका जानकार पत्रकार चन्द्रकिशोर फागुपर्व मधेशमा बसोवास गर्ने समुदायबीच आपसी सद्भाव र सम्बन्ध अभिवृद्धिको माध्यम बनेको दाबी गर्छन् । एक समय राजनीतिक रूपमा समुदायबीच बढ्दो दूरी यस्ता सांस्कृतिक अवसरहरूले घटाएको स्मरण गर्दै उनी भन्छन्, ‘यो क्षेत्रमा मनाइने फागुपर्वले विभिन्न समुदायबीच देखापरेका मनोवैज्ञानिक दूरीलाई मेट्दै आपसी सद्भाव र सम्मान अभिवृद्धिमा सघाउ पुर्‍याएको छ ।’

पर्वले समुदायको बीचमा बढाएको अपसी अन्तर्घुलन र उल्लासलाई प्रवर्द्धन गरी अझ प्रगाढ र बलियो बनाउन सक्नुपर्ने भनाइ जानकारहरूको छ । पछिल्लो समय होली पर्व सामूहिकता प्रदर्शनको माध्यम बनेको बुझाइ पनि उनीहरूको छ । चन्द्रकिशोर भन्छन्, ‘होलीको संस्कृति र परम्पराले समुदायबीचको आर्थिक र सामाजिक दूरी घटाउने काम गरेको छ ।’

यस क्षेत्रको लोकसंस्कृतिका जानकार सञ्चारकर्मी रीतेश त्रिपाठी भने पछिल्लो समयमा होलीको सांस्कृतिक पक्ष अतिक्रमित हुन पुगेकोमा चिन्तित छन् । ‘होलीअगावै गाउँघर र शहरका गल्लीमा गुञ्जिने होलीका परम्परागत संगीत ‘होरी’ अहिले सुन्न पाइँदैन,’ त्रिपाठी बताउँछन् ।

होलीका गीतका नाममा हिन्दी र भोजपुरी भाषामा रेकर्ड भएका अन्य गीतले प्रवेश पाएका छन् । परम्परागत गीत गाउने चलन लोप भएर गएको छ ।

‘तराईमा प्रचलित लोकबाजाहरू ढोलक, डम्फा, झाल र मञ्जरी बजाएर गाइने होलीका गीत अहिले बिरलै सुन्न पाइन्छ । होलीको बहानामा मादक पदार्थ सेवन र यसबाट आपसी झैझगडाका घटनाहरू बढ्न थालेका छन् । यसले विभिन्न विकृति र विसंगतिलाई पनि बढाएको छ,’ उनले भने ।

होली मिलन समारोहमा बजाइने बनिबनाउ गीतको चर्को अतिक्रमणले फगुवाको लोक संस्कृति लोप हुँदै गएकाले जगेर्नामा जागरुक हुनुपर्ने धारणा यो क्षेत्रका जानकारहरूको छ । पहिला श्रीपञ्चमीलगत्तै गाउँघरमा होली गाउने चलन रहेको त्रिपाठी स्मरण गर्छन् । ‘गाउँघरमा होलीको धार्मिक मान्यतामा आधारित सांस्कृतिक गीतहरू सुनिन्थ्यो । त्यो मौलिकता अहिले देख्न पाइँदैन,’ उनले भने ।

विभिन्न प्रसारण र सञ्चारमाध्यममा होली गीत भनेर बजाइने अहिलेका गीतमा परम्पराको आभाससमेत नपाइने दाबी जानकारहरूको छ ।

होलीलाई आफन्तबीच भेटघाट र उमंगको अवसरका रूपमा पनि लिइन्छ । यो पर्वमा टाढाटाढाबाट परिवारका सदस्य र आफन्तहरू भेटघाटका लागि एक ठाउँमा भेला हुन्छन् ।

आपसमा रङ दलेर मान्यजनबाट आशीर्वाद लिई शुभकामना आदानप्रदान गर्छन् । यो पर्वलाई आपसी रिसराग त्यागेर सुमधुर सम्बन्ध विस्तारको पर्वका रूपमा समेत लिइन्छ ।

काम विशेषले टाढा रहेका परिवारका सदस्य यो बेला होली मनाउन घर फर्किने भएकाले यो पर्व मिलनको अवसर पनि हो । फगुवामा परिवारका सबै सदस्य, आफन्त र साथीसंगी भेला भएर आपसमा रमाइलो गरी मीठो परिकार खाने चलन छ ।

‘होली मनाउने तौरतरीका पनि फेरिएको छ । कृषिमा आधारित पर्वहरूमा अहिले आधुनिकताले प्रवेश पाएको छ,’ होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले भने । पहिले तराईमा १ महीनाअगावै होलीको माहोल शुरू हुने गरेकोमा अहिले यसको रौनक २/४ दिनमा सीमित हुन पुगेको छ । आर्थिक अभियानबाट

Back to top