×

करेला सेवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । कम्तीमा हप्तामा एक पटक करेला खानुपर्छ । किनभने अन्य सब्जीको तुलनामा यसमा धेरै औषधिय गुण हुन्छ । यो खाएपछि सजिलै पच्छ । करेला प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिनको स्रोत हो । यद्यपी करेलालाई स्वादिलो बनाउन फ्राइ गर्ने, तेलमा तार्ने गरिन्छ । धेरैजसोले त डिप फ्राइ गरेर करेला खाने गरेका छन् । यसले गर्दा करेलामा हुने तत्व नष्ट हुन्छ । सकेसम्म करेलालाई उसिनेर सेवन गर्नु राम्रो हो । यसलाई साँधेर सेवन गर्दा थप स्वादिलो पनि हुन्छ । ताजा करेलाको अचार, जुस बनाएर खान सकिन्छ ।

 करेला खानुको फाइदा : कलेजोको रोगीलाई करेला सेवन लाभदायक हुन्छ, करेलाले रगत सफा गर्छ साथै हेमोग्लोबिन बढाउँछ । करेलाले पाचनशक्ति दुरुस्त राख्छ, भोक जगाउँछ, दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो । करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ, करेला चिसो हुन्छ त्यसैले गर्मीबाट पैदा हुने रोगीका लागि यसले राम्रो काम गर्छ । कफको रोगीले करेला सेवन गर्नुपर्छ, मधुमेहका लागि पनि करेला रामबाण हुनसक्छ यसले सुगर लेभल नियन्त्रण गर्छ । आयुर्वेदिक चिकित्सामा तीते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ। विशेषगरी- उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ । पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्‍याउँछ। रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ। त्यसको आपूर्ति करेलाबाट लिन सकिन्छ। 

औषधोपचारमा करेला : जुका परेमा तीन दिनसम्म १/१ चम्चा करेलाको रस विहान खाली पेटमा खाने गरेमा जुगा परेको नाश हुन्छ । जण्डिस (कमलपित्तमा) भएमा एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहान/वेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ । उच्च रक्तचाप भएका बिरामीले बिहान तितेकरेलाको जुस वा तरकारी खाएमा उच्च रक्तचापमा कम हुँदै जान्छ । तीतेकरेलाको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ । पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ । साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्ता रोकिन्छ ।

 करेलाको फल : ५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ । मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान बेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ । 

पात : तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तै आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ । तीतेकरेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ । वर्षा याममा हैजा लागेको शङ्का लागेमा वा हैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ । 

तिते करेलाको जरा : तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ । तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वाससम्बन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।

Back to top