×

वीरगञ्ज, ७ मंसिर । पर्सा जिल्लामा पाँच दलीय गठबन्धनका दुई जना हेभीवेट नेताहरुको जमानत जफत भएको छ । 

मतगणनाका क्रममा कूल सदर मतको १० प्रतिशत ल्याउन नसक्ने पाँच दलीय गठबन्धनका दुईजना उम्मेदवारहरुको जमानत जफत भएको हो ।

जमानत जफत हुनेमा पूर्वमन्त्री एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार लक्ष्मणलाल कर्ण र पर्सा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा महिला आयोगकी पूर्वअध्यक्ष एवम् सांसद् शेख चाँदतारा कुमारी रहेका छन् ।

पर्सा-१ मा कूल सदर मत ४४ हजार ५२६ मध्ये कर्णले जम्मा १ हजार ११७ मत ल्याएका छन् । उक्त क्षेत्रबाट पूर्ववन तथा वातावरणमन्त्री जसपाका नेता प्रदीप यादव २२ हजार ५३७ मतका साथ दोस्रो पटक निर्वाचित भएका छन् । 

यसअघि पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित कर्ण गठबन्धनका कारण पर्सा-१ बाट लड्नु परेको थियो । यद्दपी नेपाली कांग्रेसले कर्णलाई सहयोग नगरेर कांग्रेसबाट बागी उठेका अजय द्विवेदीलाई खुलेरै सहयोग गरेको थियो । लोसपाको खासै पकड नभएको यस क्षेत्रमा कांग्रेसले पनि धोका दिँदा कर्णलाई लज्जास्पद हार व्यहोर्नु परेको हो ।

त्यस्तै पर्सा ४ (ख) मा कूल सदर ३१ हजार ७१७ मध्ये चाँदताराले १ हजार ७६५ प्राप्त गरेकी छन् । उक्त क्षेत्रबाट पनि जसपा नेता सिंगासन साह कलवार १५ हजार ३८५ मत ल्याएर निर्वाचित दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चाँदतारा कुमारीलाई पनि कांग्रेसले धोका दिँदा उनि यो अवस्थामा पुगेकी हुन् । सोही क्षेत्रबाट कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल ऐतिहासिक मतका साथ विजयी हुँदा चाँदताराको हार्नु पछाडिको कारण पनि कांग्रेसको असहयोग हो ।

Back to top