×

पछिल्लो समय सूचना प्रविधिको विकाससँगै इन्टरनेटको प्रयोग पनि दिनानुदिन बढ्दै गइरहेको छ । इन्टरनेट प्रयोगकर्ता सचेत नहुँदा विभिन्न घटनाहरू समेत घट्ने गरेका छन् भने बालबालिकाले इन्टरनेट प्रयोग गर्दा सकारात्मक भन्दा नकारात्मक असर धेरै पर्ने गरेको मनोविद्हरू बताउँछन् ।

आफ्ना बच्चाहरू इन्टरनेटको प्रयोगका कारण पढ्न, खाना खान तथा अन्य काम समेत समयमा नगर्ने गरेको कतिपय अभिभावकहरूको गुनासो समेत सुनिने गरिन्छ । बालबालिका इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगका कारण समयमा कुनै पनि कार्य नगर्ने, भनेको नमान्ने, अटेरी र जिद्धि स्वभावका हुने र मोबाइलमै व्यस्त रहने गरेको काठमाडौँ तीनकुने बस्ने डिलाराम पौडेलले बताए ।

उहाँ भन्नुहुन्छ, “बच्चाहरू पढ्दै छन् मोबाइलमा चाहिने कुराहरू नै हेर्दै होलान् भन्यो युट्युबमा विभिन्न खालका भिडियोहरू हेर्ने, गेम खेल्ने गरेका हुन्छन् जसका कारण उनीहरूले समयमा आफ्ना कुनै पनि काम नगर्ने, भनेको नमान्ने गर्छन् ।” यो त एउटा प्रतिनिधि घटना मात्रै हो । पछिल्लो समय प्राय धेरैजसो बालबालिका इन्टरनेटको प्रयोगबाट आफ्ना गृहकार्य समयमा नगर्ने, परिवार र आफन्तहरूसँग पनि घुलमिल नहुने, जिद्दी स्वभावका हुने गरेको पाइएको मनोविद्हरू बताउँछन् ।

आफ्ना बच्चा खाना समेत मोबाइल नभई नखाने र स्कुलबाट र्फिर्कनासाथै मोबाइलमा नै व्यस्त हुने र मोबाइल नपाए रिसाउने गरेको अर्का अभिभावक सरस्वती आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “बच्चाहरू स्कुलबाट फर्केपछि डे«स समेत चेन्ज नगरी मोबाइलमा नै व्यस्त हुन्छन्, मोबाइल नपाए रिसाउने, खाजा समेत नखाने र भनेको नमान्ने गर्छन् । ” धेरै फाइदासँगै बेफाइदा पनि उत्तिकै लिएर आएको छ इन्टरनेटले ।

इन्टरनेट प्रयोगकर्ता सचेत नहुँदा कहिलेकाहीँ नकारात्मक असर देखिँदै आएका छन् भने पछिल्लो समय इन्टरनेटका माध्यमबाट बालबालिकाको दुरुपयोग हुने, दुर्व्यवहार र यौन शोषणमा पर्ने गरेका घटनाहरू पनि देखिने गरेका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा अन्य क्षेत्रमा समेत नकारात्मक असर पर्नुका साथै परिवारका सदस्यहरु र आफन्तहरुसंग पनि घुलमिल नगरी इन्टरनेटमै धेरै रमाउने प्रवृत्ति देखिने गरेको छ ।

जसका कारण बालबालिका जिद्दी हुने, झनक्क रिसाउने स्वभावका हुने गर्दछन् । बालबालिकाको हकमा इन्टरनेटले सकारात्मक भन्दा पनि नकारात्मक असर बढी पार्ने गरेको मनोविद् गोपाल ढकालले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सामाजिक सञ्जाल एवं इन्टरनेट बालबालिकालाई भुलाउने र मनोरञ्जनका नाममा प्रयोग गर्न दिनुले बालबालिका यसको लतमा पर्नसक्ने हुन्छन् भने बालबालिकाको चौतर्फी विकाससँगै उनीहरूको मनोविज्ञानमा नै यसले नकारात्मक प्रभाव पारिरहेको हुन्छ । ”

मनोविद् ढकाल भन्नुहुन्छ पछिल्लो समय इन्टरनेट बालबालिकामैत्री नभएका कारण पनि बालबालिकालाई त्यसमा भुल्न दिन नहुने भन्दै बालबालिकाले कुन प्रयोजनका लागि प्रयोग गरिरहेको छ भन्ने जानकारी नराख्दा पनि यसले गम्भीर असर पार्न सक्छ । उहाँ भन्नुहुन्छ, इन्टरनेट तथा सामाजिक सञ्जालको विषयमा एकै शब्दमा भन्दा पछिल्लो समय इन्टरनेट बालबालिकाका लागि विष समान रहेको छ ।

बालबालिकालाई इन्टरनेटको प्रयोगबाट बाहिर ल्याउनका लागि अभिभावक स्वयंले पनि उनीहरूका अगाडी इन्टरनेटका साधनहरू कम प्रयोग गर्ने र उनीहरूसँग धेरै समय बिताउनुपर्ने हुन्छ । बालबालिकालाई इन्टरनेटको लत लागिसकेपछि बाहिर निस्कन गाह्रो हुने भएकाले इन्टरनेटको सही सदुपयोगका सम्बन्धमा विद्यालय स्तरबाट नै पठनपाठन र शिक्षाको आवश्यकता रहेको सरोकारवालाको धारणा छ ।

Back to top