वीरगञ्ज २ मंसिर । यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्थिर समय शुरु भएको छ । आज राति १२ बजेपछि स्थिर समय शुरु भएको हो । यो अवधिमा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि गर्न रोक लगाइएको छ । निर्वाचन आयोगले स्थिर समयमा गर्न नपाइने ८ बुँदा ताेकेकाे छ ।
के–के गर्न पाइँदैन ?
- निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी आदी गर्न पाइँदैन ।
- मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्छ ।
- सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा गराउनु हुँदैन ।
- निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन ।
- मतदान प्रारम्भ हुनुभन्दा तीन घण्टाअघिदेखि मतदान समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्नु हुँदैन ।
- बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोजभतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्ज्त वा होहल्ला गर्न वा गराउन हुँदैन ।
- मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पर्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन हुँदैन ।
- राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।