×

वीरगञ्ज, २८ कार्तिक । व्यापारिक एवम् आर्थिक राजधानीका रुपमा परिचित देशकै प्रमुख प्रवेशद्वार वीरगञ्ज अब पर्यटकीय गन्तव्यको रुपमा पनि विकास हुने भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ रामवनमा शिलान्यास भएको प्राकृतिक चिडियाखाना बनेपछि वीरगञ्जले पर्यटकीय शहरको रुपमा पनि आफ्नो परिचय बनाउने भएको हो । 

व्यावसायिक प्रयोजनदेखि अन्य क्रियाकलापका लागि मात्रै वीरगञ्ज आउने परिस्थितीलाई परिवर्तन गरेर भ्रमण तथा अवलोकनका लागि पनि वीरगञ्ज आउने वातावरणको निर्माण गर्न प्राकृतिक चिडियाखाना बनाउने काम थालनी गरिएको हो । चिडियाखाना बनेपछि वीरगञ्जको मात्रै नभएर समग्रमा पर्सा जिल्लाकै चौतर्फी विकास हुनेमा कुनै आशंका छैन । चिडियाखाना निर्माण सम्पन्न भएपश्चात व्यापारिक शहर वीरगञ्जको कारोवार पनि उल्लेख्य रुपमा बृद्धि हुनेछ भने त्यसआसपासका गाउँहरुलाई पनि विकासले पछ्याउने भएकाले त्याहाँका स्थानीय उत्साहित देखिन्छन् । 

भारतसँग सिमाना जोडिएको वीरगञ्जमा आउने भारतीय पर्यटकहरुलाई आकर्षित गरेर पर्यटन व्यवसाय फस्टाउनका लागि चिडियाखाना कोशेढुङ्गा सावित हुने होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त बताउँछन् । उनी भन्छन्, “यदि चिडियाखाना बन्यो भनेपछि विभिन्न प्रयोजनले आउनेलाई पनि हामी भ्रमण हेतु थप एक दिन रोक्न सक्छौ भने घुम्ने उद्देश्यले आउनेहरुको संख्या पनि बढ्नेछ । जसले गर्दा उनीहरु यहाँका होटलमा खानेछन्, बस्नेछन् । त्यसले यहाँका होटल व्यवसायीहरु पनि फस्टाउनेछन् ।” 

देशकै प्रमुख प्रवेशद्वार वीरगञ्जभएरै हेटौडा, सौराहा, नारायणघाट, लुम्बिनी, पोखरा लगायतका ठाउँमा जाने भएपनि वीरगञ्जमा रोक्नका लागि कुनै गन्तव्य नै नभएको बेला चिडियाखानाले यस किसिमको अभावको परिपुर्ती गर्नेमा यहाँका पर्यटन व्यसायीहरु विश्वस्त छन् । यसबाट व्यवसायी त प्रत्यक्ष रुपमा लाभान्वित हुन्छन् नै । यहाँका कृषकहरुको उत्पादनले पनि बजार पाउनेछ । त्यस क्षेत्रमा होटल, रेस्टुरेन्ट, पसलसहित होमस्टे जस्ता व्यवसायहरु पनि सञ्चालन हुने हुँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सयौँ स्वरोजगार बन्ने छने भने प्रसशस्त मात्रामा रोजगारीको पनि सृजना हुनेछ । 

वीरगञ्ज एवम् यस आसपासका व्यक्तिहरुलाई विदाको अवसरमा घुम्न जानुपरेमा हेटौडा, सौराहा, सर्लाहीको भरतताल लगायतका स्थानमा जानुपर्ने बाध्यता छ । शनिवार आउने बित्तिकै त्रिखण्डी गएर नुहाएको फोटो र भिडियो वीरगञ्जका अधिकांश व्यक्तिहरुको सामाजिक सञ्जाल (फेसबुक, इन्स्टा, टिकटक) मा देखिने गरेको छ । जसले गर्दा त्यस ठाउँको प्रचारप्रसार हुने गरेको छ भने त्यस क्षेत्रका पसल एवम् व्यवसायहरु पनि फस्टाइरहेका छन् । त्यस्तै अवस्था अब वीरगञ्जमै सृजना गर्न सकिने यहाँका होटल तथा पर्यटन व्यवसायीहरु दावी गर्छन् ।

प्रस्तावित क्षेत्र जंगलसँग जोडिएका हुँदा त्याहाँ अरु पनि सम्भावनाहरुलाई सम्भव बनाउन सकिन्छ । जंगल सफारीसहित त्याहाँदेखि भाथाधाम मन्दिर हुँदै ठोरीसम्म र पर्सा राष्ट्रिय निकुञ्जसम्मको विशेष प्याकेज बनाएर पनि शुरु गर्न सकियो भने अँझै पर्यटकलाई आकर्षित गर्न सकिन्छ । 

सबैया साझेदारी वनको ५० हेक्टर (७५ बिघा) क्षेत्रफलमा १ अर्ब १ करोड ७ लाख रुपैयाको लागतमा चिडियाखाना निर्माण हुन लागेको हो । विस्तृत परामर्श तथा सर्वेक्षण, क्षेत्र निर्धारणमा १५ लाख, अतिक्रमण व्यवस्थापनमा ६ करोड, गुरुयोजना तयार गर्ने लगायतका लागि ७५ लाख, पूर्वाधारका लागि डीपीआर तयार गर्न ५ करोड, ३.१५ किलोमिटर कम्पाउण्ड वाल र तारबार गर्न ५ करोड ६७ लाख, प्रशासनिक भवन, पूर्वाधार सुविधाहरुका लागि २० करोड, वन्यजन्तुका लागि इन्क्लोजर तथा पूर्वाधारहरु बनाउन ३५ करोड खर्च लाग्ने अनुमान छ ।

त्यसैगरि फोहोरमैला व्यवस्थापन लागि पूर्वाधार तथा सुविधाका लागि २ करोड, पशु स्वास्थ्य सेवा, प्रजनन र अनुसन्धान सुविधा स्थापना गर्न १५ करोड, सुरक्षाका लागि १ करोड, वन्यजन्तुको संकलन, प्रदर्शनी र व्यवस्थापनका लागि ५ करोड, आगन्तुकहरुको सुविधा विकास गर्न २ करोड ५० लाख, सञ्चालन जनशक्तिका लागि वार्षिक २ करोड ५० लाख र भैपरी आउने खर्च ५० लाख लाग्ने अनुमान वन तथा वातावरण मन्त्रालयले गरेको स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

चिडियाखानामा वन्यजन्तु उद्धार केन्द्र र वन्यजन्तु अस्पताल पनि निर्माण गरिनेछ । जसबाट पशु चिकित्सकसहित अन्यले पनि रोजगार प्राप्त गर्नेछन् ।  वीरगञ्जमा बन्न लागेको चिडियाखाना ओपेन जु (प्राकृतिक चिडियाखाना) हो । ‘यो ओपेन जु हो, यसमा वन्यजन्तुहरु पिजडा वा खोरमा बन्दी हुैदनन्, खुल्ला रहन्छन्, पर्यटकहरु भने बन्द गाडी भित्र बसेर चिडियाखाना भित्र घुम्छन्’, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले भने । उनका अनुसार यस चिडियाखानामा नेपालको हिमाल, पहाड र तराइमा पाइने सबै प्रकारका वन्यजन्तुका साथै समुन्द्री जीवजन्तुहरु पनि राख्ने परिकल्पना गरिएको छ ।

भदौ २७ मा बसेको मन्त्रिपरिषद्को बैठकले चिडियाखाना निर्माणका लागि अनुमति प्रदान गरेसँगै असोज ६ गते तत्कालिन वन तथा वातावरण मन्त्री प्रदीप यादवले शिलान्यास गरेका थिए । 
 

Back to top