×

वीरगञ्ज २८ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेश सभाको आसन्न निर्वाचनले देश र जनताको पक्षमा असाधारण महत्वको फैसला गर्नुपर्ने बताएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचन सामान्य निर्वाचन नभई देशको गौरव र स्वाभिमान माथि उठाउने कि देशलाई पराधीनतातर्फ लैजानेबीचको लडाईं भएको ओलीको भनाई छ ।

कालीकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने,‘फुटेका हाँडीका टुक्रा जस्ता पार्टी जोडेर विदेशीको कठपुतली र घुँडाटेकुवा सरकार बन्नबाट रोक्नुपर्छ ।’ उनले देशको राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेलाई मतदात गरी विजयी बनाउन आग्रह गरे ।

उनले पार्टीको सरकार हुँदा ल्याइएका लोकप्रिय कार्यक्रम र गरिएका विकासका कामबाट विरोधीहरू आत्तिएको बताए । उनले २०५१ सालमा एमालेले ल्याएको ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रमको बजेटबाट गाउँको विकास शुरू भएको, ज्येष्ठ नागरिकलाई भत्ता दिन थालेपछि लोककल्याणकारी राज्यको अवधारणा कार्यान्वयन प्रारम्भ भएको वताउँदै आफ्नो नेतृत्वको सरकारका कार्यकालमा भएका ऐतिहासिक र दूरगामी महत्वका निर्णय र देशको चौतर्फी विकासका लागि शुरु गरिएका कामका बारेमा जानकारी गराए।

उनले भने,‘एमालेले सामाजिक सुरक्षा कार्यक्रम ल्याएर घर–घरमा पैसा पुर्याउने काम थालेपछि विरोधीहरू आत्तिए । महिनाको सय रुपैयाँबाट थालेको वृद्धभत्ता अहिले हरेक दिन १३३ रुपैयाँ भएको छ । सडकमा अलपत्र मानिसका लागि एमालेले काम गर्यो, सडक बालबालिकाको उद्धार थाल्यो । पूर्वपश्चिम रेल र हुलाकी राजमार्ग एमालेले अघि बढायो । भारतवेष्ठित देशलाई चीनतिर पनि जोडेपछि विरोधीहरू आत्तिए ।’

उनले दुर्गम क्षेत्रका नागरिकको जीवनस्तर उठाउन, शिक्षा, स्वास्थ्य, यातायात लगायतका विकासका काम गर्न एमालेका उम्मेदवारलाई मतदान गरी विजयी बनाउन आग्रह गरे ।

Back to top