वीरगञ्ज २७ कार्तिक । सामान्य अवस्थामा पूर्वाधार निर्माणको सिजन शुरू भएसँगै उत्पादनको ६० प्रतिशतसम्म सिमेन्ट तथा डण्डी विक्री गर्ने उद्योगीहरू अहिले निराश छन् । चाडपर्व सकिएलगत्तै सरकारी विकास निर्माणको काम शुरू हुने र व्यक्तिगत घर बनाउने क्रम पनि त्यही बेला बढ्ने हुँदा कात्तिकदेखि निर्माण सामग्रीको खपत बढ्ने अनुभव उद्योगीहरूको छ ।
यो वर्ष विकास निर्माण शुरू हुने बेलामा चुनाव परेर काम हुन नपाएपछि उत्पादन कटौती गर्न बाध्य हुनुपरेको उद्योगीहरुको भनाइ छ । नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेल सिमेन्ट ‘स्टक’ राख्न नमिल्ने हुँदा अहिले उद्योगहरूले धमाधम उत्पादन घटाइरहेको बताउँछन् । अहिले औसतमा उद्योगहरूको उत्पादन नै कुल क्षमताको ३० प्रतिशतमा झरेको उनको भनाइ छ ।
‘चाडपर्व सकिएपछि पहिला कामदारदेखि सबै फिल्डमा आउने चलन थियो, यो वर्ष उनीहरू चुनाव प्रचारमा लागे,’ पोखरेलले भने, ‘यसले गर्दा काम हुन सकेको छैन । निर्माण व्यवसायीले पनि सरकारबाट भुक्तानी नपाएको बताउँदा उधारो उठ्न सकेको छैन ।’ यति दिनपछि विकास निर्माणका गतिविधि शुरू हुन्छन् भन्ने पनि यकीन नभएको भन्दै उनले अहिले उद्योग व्यवसाय अप्ठ्यारो अवस्थामा रहेको बताए ।
अर्काेतर्फ चर्काे ब्याजदरले गर्दा पनि घर बनाउने काम सुस्त छ । बजारमा गएको उधारो उठेको छैन । माग नै कम हुँदा उद्योगीले उत्पादन घटाएका छन् ।
उद्योगलाई अप्ठ्यारो पर्ने अवस्था छ । उद्योगमात्रै नभई सबै क्षेत्र अहिले समस्यामा छन् । चुनावपछि विकास निर्माणले गति लिने र सरकारले पनि खर्च क्षमता बढाउने आश गरेको पोखरेलले बताए । तर, सरकार गठन र ५ वर्ष अवधि छ भन्ने मनसायले नयाँ सरकारले काम गरेमा अवस्था अहिलेको जस्तै हुने पोखरेल बताउँछन् ।
‘सामान्यतया, यो अवधिमा ६०/७० प्रतिशत सिमेन्ट विक्री हुन्थ्यो,’ पोखरेलले भने, ‘यो वर्ष ३० प्रतिशतभन्दा कम छ ।’ सिमेन्ट उद्योग बढेका छन् तर उपभोग तथा आपूर्तिको अवस्थामा सुधार नआउँदा समस्या भएको छ । यसले गर्दा बैंकको किस्ता तिर्न पनि समस्या भइरहेको व्यवसायी बताउँछन् ।
फलामे छडसमेत उत्पादन गर्ने साखः ग्रुपका प्रबन्ध निर्देशक किरणप्रकाश साखःले आफ्नो कम्पनीको उत्पादन १० प्रतिशतमा झारेको बताए । पञ्चकन्यालगायतका अन्य स्टील उद्योगले पनि उत्पादन घटाएका छन् । ‘विगत ५० वर्षमा नदेखिएको अवस्था अहिले देखिएको छ,’ साखःले भने, ‘सरकारको अस्पष्ट नीतिको परिणाम अहिले सबै क्षेत्रले बेहोरिरहेको छ । स्पष्ट आर्थिक नीति र उद्योगलाई प्रोत्साहित गर्ने नीति सरकारसँग छैन ।’
सरकारकै नीतिले उत्पादन कम भएको उनले बताए । ‘हाम्रो कच्चा पदार्थ पनि महँगो हुँदा उत्पादन बढाउन सकिएको छैन । बजारमा पैसा छैन र घर बनाउन पाएको अवस्था पनि छैन,’ साखःले भने, ‘चुनावपछि यी समस्या समाधानमा सरकारले ध्यान दिए गति लिने आश छ ।’ मङ्सिर ४ गतेको निर्वाचनपछि गठन हुने सरकारले स्पष्ट आर्थिक नीति लिनु आवश्यक भएको उनले बताए ।
निर्वाचनपछि विकास निर्माणका कामले गति लिने अपेक्षा गरेको भन्दै उनले अहिले देखिएको तरलता अभाव, ब्याजदर घटाउने जस्ता काम र निर्माणका गतिविधि बढाउने अपेक्षा गरिएको बताए । अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले सिमेन्टको खपत दयनीय अवस्थामा रहेको बताए ।
तरलता अभाव, राजस्व संकलन कम र ब्याजदर उच्च हुँदा सरकारको खर्च नबढेको र निजी घर बनाउनेले पनि बनाउन नपाउँदा निर्माण सामग्रीको खपत घटेको उनले बताए । अब आउने सरकारले उत्पादनमूलक उद्योगलाई ‘प्राइम फोकस’ गरेर अघि बढ्न आवश्यक भएको उनले बताए । विकास निर्माण सुस्त भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च अवस्थाले समेत देखाउँछ ।
मन्त्रालयका अनुसार पहिलो त्रैमासिकमा जम्मा ६ प्रतिशत बजेट खर्च भएको छ । यसमा विकास निर्माणकै काम भने अझ कम छ । मन्त्रालयले यातायात, रेल र सडक विभागसम्मको खर्च जोड्दा पनि ६ प्रतिशतभन्दा माथि नगएको देखिएको छ । मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले चुनावअघि कामले गति लिन नसक्ने बताए । आर्थिक अभियानबाट