सरकारले चालू आर्थिक वर्षको आन्तरिक ऋण मङ्सिर दोस्रो सातादेखि उठाउने भएको छ । सरकारले बजेटमा घोषणा गरेको २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले तालिका सार्वजनिक गरेको हो ।
वीरगञ्ज २५ कार्तिक । चालू आर्थिक वर्षको दोस्रो त्रैमास (कात्तिक–पुस) मा ३० अर्ब, तेस्रो त्रैमास (माघ–चैत) मा ८८ अर्ब र चौथो त्रैमास (वैशाख–असार) मा १ खर्ब ३८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । कुल ऋणमध्ये १ खर्ब ५० अर्ब रुपैयाँ बराबर अल्पकालीन अवधिको ट्रेजरी बिलबाट उठाउने योजना छ । यस्तै २ वर्षदेखि ६ वर्ष अवधिको विकास ऋणपत्रबाट १ खर्ब रुपैयाँ, ५ वर्ष अवधिको नागरिक बचतपत्रबाट ५ अर्ब र ५ वर्ष अवधिको नागरिक बचतपत्रबाट १ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना छ ।
राष्ट्र बैंकले मङ्सिर १३ गतेदेखि ऋण उठाउने जानकारी दिएको छ । मङ्सिर १३ र पुस १९ गते ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ३६४ दिने छुट्टाछुट्टै ट्रेजरी जारी गर्दैछ । यसैगरी मङ्सिर र पुसमा गरी १५ अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत उठाउनेछ । त्यसमध्ये २ वर्षको ८ अर्ब, ३ वर्षको २ अर्ब र ४ वर्षको ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी हुने राष्ट्र बैंकको भनाइ छ ।
तेस्रो त्रैमासमा भने ६० अर्बको ट्रेजरी बिल, २५ अर्बको विकास ऋणपत्र, २ अर्ब ५० करोडको नागरिक बचतपत्र र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र विक्री गरिनेछ । यस्तै चौथो त्रैमासमा ७५ अर्बको ट्रेजरी र ६० अर्बको विकास ऋणपत्र, २ अर्ब ५० करोडको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने राष्ट्र बैंकको योजना छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ट्रेजरी बिल जारी गरी अल्पकालीन अवधिका लागि आन्तरिक ऋण उठाउने गर्छ । विकास ऋणपत्रमा भने बैंक तथा वित्तीय संस्थाका अतिरिक्त विभिन्न पेन्सन फन्ड, बीमा कम्पनीहरुले पनि लगानी गर्न पाउँछन् । नागरिक बचतपत्र भने सर्वसाधारण नागरिकले मात्र खरीद गर्न पाउँछन् । वैदेशिक रोजगार बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गर्न पाउने व्यवस्था छ । आर्थिक अभियानबाट