×

वीरगञ्ज १३ कार्तिक । नेपाली कांग्रेसका नेता प्रमोद यादवका भतिज निखिलले कार पछाडि हटाएर घाइते बनाएको भन्दै घाइतेहरुले कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार राति निखिलले बुटवलको एक क्लब अगाडि बा ०१–०२ ६६२९० नम्बरको कार ब्याक गरेर ६ जनालाई घाइते बनाएको उनीहरुको भनाइ छ । पीडितहरूले कांग्रेस नेता यादवले मिलापत्रका लागि दबाव दिएको बताएका छन् ।

कारको ठक्करबाट तानसेन नगरपालिका वडा नम्बर ४ का कुनल श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का विपिन श्रेष्ठ, देवदह नगरपालिका वडा नम्बर १० का जीवन मल्ल, बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का सुरज पाण्डे, बुटवल वडा नम्बर १२ का दीपक पुन र बुटवल वडा नम्बर १३ का मनोज थापा घाइते भएका थिए ।

यादवले गाडी ब्याक गराएर घाइते बनाएको तर कारबाहीको साटो कांग्रेस नेताहरुबाट मिल्न दबाब दिएको घाइतेहरुको गुनासो छ । 

ठक्कर दिने गाडी र चालकलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको छ । 

घाइते सुजलले यादवका आफन्त र कांग्रेसका नेताहरू अस्पताल आएर पटक पटक मिलेर जान दबाब दिइरहेको बताए । ‘दोषीलाई कारबाही हुनुप¥यो, नेता दबाबमा प्रहरीले घटना सामसुम पार्न खाजेको छ’, सुजलले भने ।

यादवले गाडी ब्याक गर्दा त्यहाँ रहेका आधा दर्जन मोटरसाइकल र स्कुटरमा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले चालकले मदिरा सेवन गरेको भए कानुन बमोजिम कारबाही हुने बताए ।
 

Back to top