×

ब्रसेल्स (बेल्जियम) । यूरोपका सांसदहरुले सबै खालको पोर्टेबल उपकरणहरुमा एउटै खालको चार्जिङ केबल प्रयोगलाई अनिवार्य बनाउने कानून पारित गरेका छन् । नयाँ कानून अनुसार सन् २०२४ देखि एप्पल आइफोन र आईप्याडसमेतका सबै खालका स्मार्टफोन र ट्याब्लेटहरुमा यूएसबी–सी चार्जर चलाउनु पर्नेछ ।

ल्यापटप उत्पादकहरुले एउटै खालको चार्जर प्रयोगमा ल्याउन आवश्यक व्यवस्था मिलाउन सन् २०२६ सम्मको समय पाउने भएका छन् । यो कानूनको पक्षमा ६०२ मत खसेको थियो भने १३ ओटा विपक्षमा खसेको थियो । ८ जना सांसद मतदानमा अनुपस्थित थिए । सदस्य देशहरुले यस प्रस्तावलाई अक्टोबर २४ सम्ममा अनुमाति दिने अपेक्षा गरिएको छ ।

सन् २०२१ को सेप्टेम्बरमै ईयू सदस्य देशहरुले यूरोपेली आयोगले प्रस्ताव गरेको नयाँ कानून अन्तर्गत फोन र साना इलेक्ट्रोनिक उपकरणहरु सबैमा मिल्ने एउटै खालको चार्जर बनाउन उपकरण निर्माताहरुलाई बाध्य बनाउने कानून पारित गर्ने सहमति गरेका थिए । उपभोक्ताहरुलाई नयाँ उपकरण किन्दा समेत पुरानै चार्जर प्रयोग गर्न प्रेरित गर्नका लागि सो कानून ल्याइएको हो ।

नयाँ नियमको ईयूको प्रतिस्पर्धाका लागि आयुक्त मार्गरेथ भेष्टागरले स्वागत गरेकी छिन् । एकै जनाले विविध उपकरणका लागि अनेकौ चार्जर राख्खनु पर्दा फोहोर अनि असुविधा हुने अवस्था अब टर्ने उनको भनाइ छ । यो प्रस्तावमा अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले भने विरोध गरेको छ ।

यो नियम सन् २०२१ को सेप्टेम्बरमा पहिलो पटक सार्वजनिक हुँदा एउटै खालको कनेक्टर प्रयोगलाई अनिवार्य पार्ने कठोर नियमनले नवप्रवर्तनलाई प्रेरित गर्ने भन्दा पनि घाँटी न्याक्ने अनि यसले यूरोप र विश्वभरका उपभोक्ताहरुलाई क्षति पुर्‍याउने एप्पलले बताएको थियो । एप्पलले कष्ष्टम चार्जिङ पोर्ट प्रयोग हुने स्मार्टफोन बनाउँछ ।

आइफोन सिरिजमा एप्पल निर्मित लाइटिङ कनेक्टर छ । नयाँ नियम मोबाइल फोन, ट्याबलेट, ई–रिडर्स, माउस र किबोर्ड, जीपीएस उपकरण, हेडफोन, हेडसेट् र इयरफोन, डिजिटल क्यामरा, हातमा राखेर चलाउन मिल्ने  भिडियोगेम कन्सोल र पोर्टेबल स्पिकरसम्म सानादेखि मझौला आकारमा पोर्टेबल विद्युतीय उपकरणमा लागू हुने छ । एजेन्सी

Back to top