×

नयाँ दिल्ली (भारत) । ताइवानी चिप निर्माता कम्पनी फक्सकोन र भारतीय माइनिङ कम्पनी भेदान्तले १९ अर्ब ५० करोड डलरमा भारतमा चिप बनाउने कारखाना निर्माण गर्ने भएका छन् । यो भारतको पहिलो चिप बनाउने कारखाना हुने बताइएको छ । 

भारत सरकारले देशभित्र चिप उत्पादनलाई बढावा दिइरहेकै समयमा दुई कम्पनी बीच टाई–अप भएको हो । चिप निर्माण उद्योगमा लगानीकर्ताहरुलाई आकर्षित गर्न प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले गत वर्ष १० अर्ब डलरको प्याकेज घोषणा गरेको थियो । 

यो कारखाना होल्डिङ कम्पनी भोल्कान इन्भेष्टमेन्टको स्वामित्वमा हुनेछ । यसमा भेदान्तको स्वामित्व ६० प्रतिशत र फक्सकोनको ४० प्रतिशत रहनेछ । प्रस्तावित सम्झौता अनुसार चिप बनाउने कारखाना मोदीको गृह राज्य गुजरातमा हुनेछ । गुजरातले लगानीकर्ताहरुलाई प्रोत्साहन दिने वाचा पनि गरेको थियो ।

आफूहरु गुजरातको राजधानी अहमदावादको नजिक करीब ४ सय एकडको साइट खोजिरहेको भेदान्तका अध्यक्ष अनिल अग्रवालले भनेका छन् । यो परियोजनाका  लागि फक्सकोन र भेदान्त दुबैलाई विगतमा जग्गा खरीदमा सकस भएको थियो ।

विज्ञहरुका अनुसार मोदीले भारतमै उत्पादनलाई टेवा दिन विश्वभरबाट उत्पादकहरुलाई आकर्षित गर्न ‘मेक इन इन्डिया’ अभियान चलाएको भएपनि सुस्त सरकारी कामकाजका कारण कम्पनीहरुले चुनौती सामना गर्ने गरेका छन् । सो परियोजनाको भव्य स्वागत गरिने गुजरातका मुख्यमन्त्री भुपेन्द्रभाइ पटेलले बताएका छन् ।

उक्त परियोजनाले गुजरातमा १ लाख रोजगारी सृजना गर्ने अपेक्षा गरिएको छ । सो कारखानामा दुई वर्षभित्र चिप उत्पादन शुरु हुने अपेक्षा गरिएको छ । भारतले पनि प्रविधि उद्योगको कायापलटका लागि ३० अर्ब डलर खर्च गर्ने वाचा गरेको छ ।

ताइवान, अमेरिका र चीन जस्ता चिप निर्माताहरुमाथिको निर्भरता कम गर्न भारतले चिप निर्माताहरुलाई थप सहुलियत दिने वाचा गरेको छ । यो परियोजनाका लागि फक्सकोन प्राविधिक साझेदार हो । भेदान्तले भने परियोजनामा लगानी गर्नेछ ।

पछिल्लो समय भेदान्तले लगानी विविधकरण गर्न खोजिरहेको छ । भारतमा चिप निर्माणको घोषणा गर्ने भेदान्त तेस्रो कम्पनी हो । यस अघि नै आगामी पाँच वर्षमा भारतमा चिप कारखाना बनाउने विषयमा आईएसएमसी र सिंगापुरस्थित आईजीएसएस भेञ्चर्सबीच सम्झौता भइसकेको छ । एजेन्सी

Back to top