×

वीरगञ्ज २६ भदौ । विराटनगरको एक उद्यमीले वीरगञ्जको एउटा उद्योगको नक्कली चुइगम उत्पादन गरेर उपभोक्ता ठगी गरेकोे भेटिएको छ ।

वीरगञ्जको स्वीटमार्ट फुड इन्डष्ट्रिजले उत्पादन गर्दै आएको ‘सेल्टर फ्रुट’ ब्राण्डको चुइँगमको नक्कली उत्पादन बजारमा छ्पाप्छ्याप्ती देखिएको हो ।

आफ्नो ब्राण्ड, प्याकेटको रङ नक्कल गरी झट्ट हेर्दा उस्तै देखिने गरी विराटनगरको पर्फेक्ट फुड्स प्रालिले ‘सेन्टर फिल्ज’ नामको चुइँगम बजारमा ल्याएर उपभोक्ता ठगी गरेकोे स्वीटमार्ट फुड इन्डष्ट्रिजका सञ्चालक निरन्जन अग्रवालले बताए ।

पर्फेक्ट फुडले आफ्नो प्रतिलिपी अधिकार हनन् गरेको र त्यसको विरुद्धमा कानूनी लडाइमा जाने अवस्था आएको अग्रवालको भनाइ छ । तर, पर्फेक्ट फुड्सका सञ्चालक आलोक राठीले आफूले नियमानुसार नै चुइँगम उत्पादन गरेको दाबी गरेका छन् ।

सो उद्योगले नक्कली उत्पादन बजारमा पठाएर उपभोक्ताको हितविपरीत काम ठगी गरिरहेको आरोप पनि अग्रवालको छ । उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड भएको उनले बताए ।

केही समययता सरोकारका सरकारी निकायको लापरवाही र उद्योगीको बद्नियतका कारण उपभोक्ताहरु नक्कली उत्पादन उपभोग गर्न बाध्य भएका छन् ।

उपभोक्ता हितको बखान गरेर नथाक्ने उपभोक्तावादी पनि बजारमा नक्कली सामानको बिगबिगीप्रति मुख खोल्न आवश्यक ठान्दैनन् । बजार अनुगमनका क्रममा हेर्दा उस्तै देखिने नक्कली उत्पादन भेटिए पनि कारवाही भने भएको छैन ।

झट्ट हेर्दा उस्तै देखिने तर न्यून गुणस्तरका खाद्य, पेय र सौन्दर्य प्रसाधनका उत्पादनहरु बजारमा जाताततै भेटिन थालेको छ । अन्तर्राष्टियस्तरमा नाम चलेका वा स्वदेशमै पनि बजार जमाएका उत्पादनको लोगो, ब्रान्ड, प्याकेजिङ र रङ मिल्दोजुल्दो बनाएर उपभोक्ता ठग्ने आपराधिम प्रवृत्ति उद्यमीहरुमा देखिएको छ ।

यस्तो धन्धामा केही नाम चलेका र उच्च राजनीतिसँग साँठगाँठ भएका व्यापारीहरु नै अग्रस्थानमा देखिएका छन् । यो गिरोहले कानूनी छिद्रको दुरुपयोग गरी उपभोक्तालाई झुक्याउने धन्धा चलाएको हो ।

नक्कली उत्पादनबाट उपभोक्ता ठगिएका छन् । यस्ता उत्पादनबाट उपभोक्ताको हितमात्र होइन, स्वास्थ्यमा समेत गम्भीर जोखिममा परेको छ ।
 

Back to top