वीरगञ्न १० भदौ । अर्थ मन्त्रालयले मातहतका भन्सार कार्यालयहरूले चालू आर्थिक वर्ष (आव) मा संकलन गर्नुपर्ने भन्सार राजस्वको लक्ष्य बढाइदिएको छ । चालू आव २०७९/८० का लागि राजस्वको लक्ष्य बढे पनि वैदेशिक व्यापारको परिमाण भने घट्दो क्रममा देखिएको छ ।
वैदेशिक व्यापारको आकार नै घटेपछि भन्सार विभागका अधिकारीहरू आफूहरूलाई दिइएको राजस्व लक्ष्य पूरा हुनेमा विश्वस्त छैनन् । विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न आयातमा गरिएको कडाइले आयात व्यापार स्वात्तै घटेको छ ।
वैदेशिक व्यापार नै घटेपछि भन्सारबाट उठ्ने राजस्वमा पनि कमी आउने सम्बद्ध अधिकारी बताउँछन् । यस्तोमा भन्सार कार्यालयहरूले पाएको लक्ष्य पूरा हुन नसक्ने ती अधिकारीको दाबी छ ।
आयातनिर्यात कारोबारका आधारमा सबैभन्दा ठूलो नाकामा रहेको वीरगञ्ज भन्सारमा आवको शुरू महीनामै यसको संकेत देखिइसकेको छ । यो भन्सारले चालू वर्षको पहिलो महीना साउनमा लक्ष्यअनुसार राजस्व उठाउन सकेन । भन्सारले लक्ष्यभन्दा करीब १५ प्रतिशत कम राजस्व संकलन गरेको तथ्यांक छ ।
वीरगञ्ज भन्सारलाई साउनका लागि १५ अर्ब २० करोड रुपैयाँको लक्ष्य तोकिएकोमा १२ अर्ब ९८ करोड रुपैयाँ उठेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । ‘व्यापार नै घटेकाले राजस्व लक्ष्य पूरा हुन नसकेको हो ।
यही अवस्था रहे वर्षका कुनै पनि महीना लक्ष्य पूरा हुने देखिँदैन,’ पौडेलले आर्थिक अभियानसित भने । यसपालि साउनमा वीरगञ्ज भन्सारबाट पोहोर साउनको तुलनामा आयात र निर्यात दुवै कारोबार खुम्चिएको छ । मूल्यका आधारमा कुल व्यापार परिमाणमा १२ प्रतिशतले गिरावट आएको छ । यसमध्ये आयात ५ प्रतिशत र निर्यात ५४ प्रतिशतले घटेको भन्सारको तथ्यांक छ ।
वीरगञ्ज नाकाबाट सवारीसाधन, इन्धन र औद्योगिक कच्चा पदार्थ मुख्य रूपमा भित्रिने गरेको छ । गाडी आयातमा लगाइएको प्रतिबन्ध र बैंकहरूले कर्जा रोक्दा पुरानो एलसीमा भित्रिएका गाडीसमेत भन्सारमा थन्किएका छन् ।
निर्याततर्फ प्रशोधित तेल मुख्य रहेकोमा भारतले लिएको आयात नीतिका कारण यसको निकासी प्रभावित छ । तेल निर्यात खस्किएसँगै यसको कच्चा पदार्थ भित्रिने क्रम पनि घटेको छ । यो नाकाबाट भटमास, पाम र सूर्यमुखीको अर्धप्रशोधित तेल उल्लेख्य मात्रामा आउने गरेको थियो ।
वीरगञ्ज भन्सारलाई चालू वर्षका लागि २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकिएको छ । गतवर्ष २ खर्ब ३ अर्ब रुपैयाँ लक्ष्य पाएको भन्सारले लक्ष्यभन्दा १ अर्ब बढी संकलन गरेको थियो । चालू आवका लागि पाएको लक्ष्य गतवर्षको तुलनामा २८ प्रतिशत बढी भएको वीरगञ्ज भन्सारका प्रमुख पौडेलले बताए । आर्थिक अभियानबाट