×

फाइल तस्बिर

वीरगञ्ज, २१ साउन ।  गैर फोटो पत्रकारलाई फोटो पत्रकारिता पुरस्कार दिन खोजेको भन्दै पर्सेली फोटो पत्रकारहरुले असन्तुष्टी जनाएका छन् । वीरगञ्जबाट प्रकाशित ‘क’ वर्गको राष्ट्रिय प्रतीक दैनिकले यस वर्षको सुबोध स्मृति पुरस्कार गैर फोटो पत्रकारलाई दिन खोजेको भन्दै पर्सेली फोटो पत्रकारहरुले आपत्ति जनाएका हुन् । 

फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा स्थापित नेपालकै एक मात्र पुरस्कार अन्य विधाका पत्रकारलाई प्रदान गरिनु उचित नहुने नेपाल फोटो पत्रकार संघ पर्साका अध्यक्ष बिजय चौहानले यात्रा डेलीलाई बताए । उनले भने, “विगतदेखि नै फोटो पत्रकारलाई प्रदान गरिदै आएको सुवोध स्मृति पुरस्कार पछिल्लो वर्ष यता विवादमा मुछिदै आएको छ । यस वर्ष पनि गैर फोटो पत्रकारलाई दिने निर्णले हामी फोटो पत्रकारहरुको चित्त दुखेको छ ।” उनले थपे, “हुन त आयोजक संस्थालाई पनि केही समस्याहरु होलान्, फोटो पत्रकारहरुले सहभागिता नजनाउनु जस्ता केही समस्या भएपनि त्यसको बिकल्प खोज्नुपर्नेमा अरु विधाका पत्रकारलाई दिने निर्णय गर्नु उपयुक्त भएन ।” 

फोटो पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठले पनि उक्त निर्णयप्रति असन्तुष्टी जनाएका छन् । यही पुरस्कारका कारण पनि फोटो पत्रकारिता गर्नतर्फ प्रेरित हुनेहरुको मनोवल कम भएको पनि उनले बताए । श्रेष्ठले भने, “खासमा फोटो पत्रकारको नाममा स्थापित पुरस्कार बिशुद्ध रुपमा फोटो पत्रकारले नै पाउनुपर्ने हो, तर प्रतिक प्रकाशन गृहले निर्णय गरेको हुँदा हामीले केही भन्ने ठाउँ पनि छैन, उहाँहरुकै निर्णय हो, कसलाई दिने, कसलाई नदिने ।” 

फोटो पत्रकारले पाउनुपर्ने पुरस्कार अरुलाई दिन उचित नहुने फोटो पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् पूर्व प्रदेश अध्यक्ष राम सर्राफले बताए । उनले भने “यसअघि पनि पत्रकारिता नै नगर्ने एक जना व्यवसायीलाई फोटो पत्रकार पुरस्कार प्रदान गरियो, अब यसपटक फोटो पत्रकारिता नगर्ने पत्रकारलाई दिने निर्णय भएछ ।” 

फोटो पत्रकार संघसँग सहकार्य गरेर बरु फोटो पत्रकारिता सम्बन्धी तालिमको आयोजना गर्नुपर्ने र फोटो प्रदर्शनी राखेर मूल्यांकन गरेर पनि प्रदान गर्न सकिने सर्राफको भनाई छ । 

आगामी भदौ १ गते प्रतिक दैनिकको ३६ औँ वार्षिकोत्सवको अवसरमा पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा स्थापित पुरस्कार सामुदायिक रेडियो नारायणी एफ.एम.का कार्यकारी अध्यक्ष एवम् प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटालाई प्रदान गर्ने निर्णय भएसँगै फोटो पत्रकारहरुले असन्तुष्टी पोखेका हुन् । 

प्रतिक दैनिकका सम्पादक प्रताप श्रेष्ठले पुरस्कारलाई फोटो पत्रकारमा मात्रै सिमित नगरेर बृहत बनाउने अभिप्रायले अन्य विधालाई समेटिएको प्रतिक्रिया दिएका छन् । यात्रा डेलीसँगको टेलिफोन संवादका क्रममा श्रेष्ठले पुरस्कारको राशी पनि बढाएसँगै पुरस्कृत हुने विधालाई पनि फराकिलो पारिएको बताए । 

१० हजार रुपैयाँ राशिबाट शुरु भएको सुबोध स्मृति पुरस्कारको राशि गत वर्षसम्म ३५ हजार थियो भने यस वर्षदेखि बढाएर ५१ हजार रुपैयाँ बनाइएको छ । 
 

 

Back to top