×

वीरगञ्ज, १० अषाढ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनाको अवधिमा विभिन्न देशबाट झन्डै ३३ अर्ब रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको छ ।

भन्सार विभागले उपलब्ध गराएको तथ्यांकका अनुसार आर्थिक वर्षको ११ महिनाको अवधिमा विभिन्न देशबाट ३२ अर्ब ६९ करोड ९४ लाख १८ हजार रुपैयाँ बराबरको ४६ लाख ५३ हजार ग्राम (४ हजार ६५३ केजी) सुन भित्रिएको हो । 

विभागका अनुसार उक्त सुन २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपाल भित्रिएको छ । आयात भएको सुनबाट सरकारले ३ अर्ब ९५ करोड ५० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।  

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपाल भित्रिएकोभन्दा बढी सुन चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९२४.५ केजी सुन भित्रिएको थियो । 

बितेको एघार महिनामा नेपालले तीन देश– युनाइेटड अरब इमिरेट्स (युएई), टर्की र स्वीट्जरल्याण्डबाट सुन आयात गरेको छ । नेपालमा सबैभन्दा बढी सुन युएईबाट आउने गरेको छ । युएईबाट चालु आर्थिक वर्षको पहिलो एघार महिनामा २६ अर्ब २ करोड ५६ लाख ५७ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ ।

सोही अवधिमा टर्कीबाट  ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ र स्वीट्जरल्याण्डबाट ७४ करोड ५० लाख १२ हजार रुपैयाँको सुन नेपाल आएको छ ।

Back to top