×

मोरङ, ९ अषाढ । एकजना १३ वर्षीय बालिकालाई अपहरण गरेर भारत तर्फ बेच्न लागिरहेको अवस्थामा मोरङ प्रहरीले प्रेमीप्रेमिकालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भइ झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मुर्तीचौकमा डेरा गरी बस्दै आएका २३ वर्षिय हिरा कुमार सहनी र बारा जिल्लाको कोल्वी नगरपालिका वडा ४ सपही निवासी १९ वर्षिय सिरिसा सिंह महथा रहेका छन् । हिरा र सरिसा प्रेमीप्रेमीका हुन् । प्रहरीका अनुसार उनीहरूको सामाजिक सञ्जालमार्फत दुई वर्ष अगाडीदेखि चिनजान भएपछि नजिकिएका थिए ।

प्रहरीले मंगलबार हिरा र सरिसालाई विराटनगर महानगरपालिका वडा नम्बर १५ को नेपाल– भारत सीमावर्ती क्षेत्रस्थित २ नम्बर गेट नजिकबाट १३ वर्षिय बालिकालाई उपहरण गरेर भारत तर्फ लागिरहेको अवस्थामा पक्राउ गरको हो  । 

साना हात नामक सहकारी संस्थासँगको सककार्यमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार दुबैले बालिकालाई नयाँ लूगा किन्दिने र राम्रो तलबमा भारतमा काम लगाइदिने प्रलोभन देखाएर भारत लग्न खोजिरहेका थिए  ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाका अनुसार सहनीले बारा घर भएकी प्रेमिकालाई फोन गरेर बिर्तामोड बलाएको रहेछन् । प्रेमिका आएपछि उनीहरू हिराको डेरामा पाँच दिन बसेका छन् । त्यसपछि उनीहरुले हिरासँग पहिलादेखि चिनजान भएको बालिकालाई नयाँ लूगा किनिदिने र भारतमा लगेर राम्रो जागीर लगाइदिने प्रलोभन देखाएर बिराटनगरसम्म ल्याएको एसपी कोइरालले बताए । बालिकालाई उनीहरुले सिमानाका कसैले केही प्रश्न गरे ‘मेरा बावुआमा कोही छैन । मेरो आफन्त भनेको उहाँहरु दाजु, दिदी हो’ भन्न पनि सिकाएका रहेछन ।

प्रहरीले उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसारको मुद्दामा जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

Back to top