×

वीरगञ्ज, ९ अषाढ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंह र भारतीय जनता पार्टी बिहार प्रदेशका अध्यक्ष डा. सञ्जय जयसवाल बीच भेटघाट भएको छ । 

भारतको बिहार राज्यअन्तर्गत पर्ने बेतिया क्षेत्रका सांसद्समेत रहेका डा. जयसवाल र मेयर सिंह बीच बिहिबार वीरगञ्ज महानगरपालिकाको कार्यालयमा भेटघाट भएको हो । 

भेटघाटका क्रममा डा. जयसवालले मेयर सिंहलाई मेयर निर्वाचित भएकोमा बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

वीरगञ्जसँग जोडिएको सिमावर्ती क्षेत्रहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा दुवै बीच छलफल भएको मेयर सिंहको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार मेयर सिंहले सिमाले गर्दा देश छुट्टाछुट्टै भएपनि दुबै बीच सांस्कृतिक, पारमपरिक, भाषागत र अन्य कयौं किसिमले समानता भएको बताएका थिए । सिंहले दुवै देश बीचको सम्बन्ध कुटनीतिक नभएर पारिवारिक र सांस्कृतिक भएको जिकिर गर्दै यस क्षेत्रको विकासका लागि वीरगञ्ज महानगर सधै हात्तेमालो गरेर अगाडि बढ्न तयार रहेको बताएका थिए । 

जवाफमा डा. जयसवालले नेपाल भारतको सबैभन्दा नजिकको साथी भएको बताउँदै सिमा क्षेत्रको विकास र दुबै देशलाई सहयोग पुग्ने किसिमको पूर्वाधार विकास गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेटघाटका क्रममा नेपाल भारत सहयोग मञ्चका अध्यक्ष एवम् वरिष्ठ उद्योगपति अशोक बैद्य, वरिष्ट पत्रकार चन्द्रकिशोर झालगायतको सहभागिता रहेको थियो ।

Back to top