×

वीरगञ्ज १९ जेठ । वीरगञ्जमा रहेका सामूदायिक विद्यालयहरुले नियमविपरित अभिभावकसँग मनपरी शूल्क उठाइरहेको पाइएको छ ।

अंग्रेजी माध्यमबाट अध्यापन गराउने नाममा वीरगञ्जका सामूदायिक विद्यालयहरुले व्यवस्थापन सहयोग शिर्षकमा अभिभावकसँग मनपरी शूल्क उठाइरहेको पाइएको हो । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ स्थित श्री माइस्थान विद्यापिठ माद्यामिक विद्यालयले अभिभावकसँग मनपरी शूल्क लिएको प्रमाण यात्रा डेलीले फेला पारेको छ । विद्यालयले एकजना ७ कक्षामा पढ्ने विद्यार्थीसँग विद्यालय व्यवस्थापन सहयोग शिर्षकमा ५ हजार ६ सय रुपैयाँ शूल्क लिएको छ । नियमअनुसार सामुदायिक विद्यालयले कुनैपनि शिर्षकमा विद्यार्थीसँग शूल्क लिन मिल्दैन । 

वीरगञ्ज महानगरपालिकाको शिक्षा (पहिलो संसोधन) ऐन २०७७ को दफा २७ को उपदफा (१) मा नेपाल सरकारले निःशूल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षाका लागि सामूदायिक विद्यालयले विद्यार्थीको नाममा कुनै किसिमको शूल्क लिन नपाउने व्यवस्था गरिएको छ । यद्यपी माइस्थान विद्यापिठले उक्त व्यवस्था विपरित विद्यार्थीका अभिभावकसँग शूल्क लिइरहँदा महानगरपालिका कार्यालयले कुनै कारवाही गरेको छैन । 

यता माइस्थान विद्यापिठका प्रधानाध्यापक मुर्तुजा अन्सारीले विद्यालयले अभिभावकसँग कुनैपनि शूल्क नलिएको दावी गरे । ‘हामीले विद्यार्थीसँग कुनै शूल्क लिएका छैनौँ । अंग्रेजी माध्यमबाट अध्ययन गर्न आउने विद्यार्थीका अभिभावकले आफै सहयोग स्वरूप दिएको रकम हामी विद्यालय व्यवस्थापनको लागि लिन्छौं । आफैले माग्ने गर्दैनौं ।’ तर विद्यालयले अंग्रेजी माध्यमबाट पढ्ने विद्यार्थीसँग कक्षा अनुसार मासिक १ हजारदेखि १४ सयसम्म शूल्क उठाउँदै आएको एकजना अभिभावकले बताए । 

विद्यालयले शिक्षा ऐनकै एउटा उपदफालाई दुरुपयोग गर्दै अभिभावकहरुसँग शूल्क असुलिरहेको छ । शिक्षा ऐनको दफा २५ को उपदफा (२) मा अभिभावकले आफ्नो इच्छा अनुसार विद्यालयलाई दिएको उपहार, चन्दा वा सहयोग लिन सक्ने व्यवस्था छ । “उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै अभिभावकले आफ्नो इच्छाले दिएको दान, उपहार, चन्दा वा सहयोग सामुदायिक विद्यालयले लिन सक्छ,” उपदफा (२) मा लेखिएको छ । माइस्थान विद्यापिठले सोही उपदफालाई दुरुपयोग गरेर विद्यार्थीका अभिभावकसँग प्रत्येक महिना विद्यालय व्यवस्थापन सहयोग शिर्षकमा शूल्क उठाउने गरेको छ ।

त्यसैगरी वीरगञ्जको त्रिजुद्ध माद्यामिक विद्यालयले पनि अभिभावकसँग यसै उपदफालाई आधार मानेर शूल्क उठाउने गरेको छ ।

वीरगञ्ज महानरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले पनि सामूदायिक विद्यालयले विद्यार्थी अथवा उनीहरुको अभिभावकसँग कुनैपनि शिर्षकमा शूल्क लिन नमिल्ने बताए । उनले भने, ‘सामूदायिक विद्यालयले कुनैपनि शिर्षकमा विद्यार्थीसँग शूल्क लिन मिल्दैन । तरपनि केही विद्यालयले शूल्क उठाइरहेको हामीसँग गुनासो आएको छ । त्यसको छानविन गर्दैछौँ ।’ अभिभावकले कुनै रकम विद्यालयलाई विकासको नाममा चन्दाको रुपमा भने दिन मिल्ने कर्णले बताए ।

Back to top