×

वीरगञ्ज, ३ जेठ । पर्साको जगरनाथपुर गाउँपालिकामा मतगणना स्थगित भएको छ । 

मतगणना गर्ने क्रममा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्रहरु फेला परेपछि नेपाली कांग्रेस बाहेकका अन्य दलहरुले विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।

जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ३ को मतगणना गर्ने क्रममा मतदान अधिकृतले हस्ताक्षर नै नगरेको केही मतपत्र फेला परेपछि निर्वाचन आयोगको कानूनमा व्यावस्था भए अनुसार नै हुने सहमतिमा मतगणना अगाडि बढेपनि दिउँसो चारबजेतिर नेपाली कांग्रेस बाहेकका राजनीतिक दलहरुले विरोध गरेपछि मतगणना रोकिएको निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिए ।

उनले भने, “वडा नम्बर ३ को मतगणना हुँदै गर्दा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको केही मतपत्र भेटियो । मतगणना स्थलमा रहेका उम्मेदवारका प्रतिनिधि सहित सर्वपक्षीय बैठकमा पनि निर्वाचन आयोगको नियामावली अनुसार मतपत्र मान्य नहुने व्यावस्था छदै छ । गणना जारी राखौं भन्ने सहमति भयो । तर, एक्कासी आएर नेपाली कांग्रेस बाहेकका दलहरुले विरोध जनाएपछि मतदान रोकेका छौं ।”

 मतपत्र भेटिएको सन्दर्भमा निर्वाचन आयोगमा लेखि पठाएको र आयोगको निर्देशन आएपछि सोही अनुसार गर्ने पनि निर्वाचन अधिकृत शर्माले बताए । 

मतगणना रोक्नका लागि नेपाली कांग्रेस बाहेकका सबै राजनीतिक दलहरुले हस्ताक्षर गरेर निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् । 

Back to top