वीरगञ्ज, ८ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को एउटा समूहले वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेसँग भएको गठबन्धनको विरोध गरेको छ ।
लोसपा पर्साका ३ जना उपाध्यक्षले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिको इसारामा पार्टीले वीरगञ्जमा एमालेसँग गठबन्धन गरेको बताउँदै त्यसको विरोध गरेका हुन । उनीहरुले गठबन्धनलाई मान्यता नदिने बताएका छन् ।
जिल्ला उपाध्यक्षहरु राजेशकुमार साह, कृष्ण पटेल र देवानन्द यादवद्वारा जारी गरिएको विज्ञप्तिमा गठबन्धन गर्ने निर्णय जिल्ला कार्यसमितिको बैठक नै नगरी गरिएको उल्लेख छ ।
बिहिबार बिहान मात्रै नेकपा एमाले र लोसपा केही नेताहरुले आसन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा दुवै पार्टी मेयरदेखि वडास्तरसम्म मिलेर जाने सहमति भएको घोषणा गरेका थिए । गठबन्धनमा महानगरको मेयर एमालेले र उपमेयर लोसपाले पाउने सहमति भएको उल्लेख छ ।
सहमति पत्रमा एमालेको तर्फबाट जिल्ला अध्यक्ष जयप्रकाश थारू र लोसपाको तर्फबाट जिल्ला अध्यक्ष पुरुषोत्तम झाले हस्ताक्षर गरेका छन् । कार्यक्रममा एमालेको तर्फबाट पूर्वमन्त्री रघुवीर महासेठ, संविधानसभा सदस्य राजकुमार गुप्ता, वीरगञ्ज महानगरका वर्तमान मेयर विजयकुमार सरावगी, बसरुदीन अन्सारी र लोसपाका वरिष्ठ नेता लक्ष्मण लाल कर्ण, संघीय सासंद् विमल श्रीवास्तव, प्रदेश सांसद् रमेश कुर्मी, प्रह्लाद गीरीलगायतको सहभागिता रहेको थियो ।
लोसपा वीरगञ्ज महानगर कमिटिले पनि नगरमा कुनै पनि पार्टीसँग गठबन्धन नभएको जनाएको छ । महानगर कमिटिका अध्यक्ष ओमप्रकाश सर्राफले यात्राडेलीसँग टेलिफोनमा कुरा गर्दै कमिटिको सहमति र इच्छा विपरित पार्टीका केही मण्डले तत्वहरुले एमालेसँग गठबन्धन गरेको आरोप लगाए ।
"हाम्रो यस गठबन्धनसँग आपत्ती छ । एमालेको इसारामा चल्ने पार्टी भित्रका केही मण्डले तत्वहरुले गरेको निर्णयलाई हामी मान्दैनौं । लोसपा एक्लैले महानगरमा निर्वाचन लड्ने क्षमता राख्छ," सर्राफले भने ।