×

वीरगञ्ज, ८ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गठबन्धन गरेर वीरगञ्ज महानगरपालिकामा चुनाव लड्ने भएका छन् । 

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा दुवै पार्टीले मेयरदेखि वडास्तरसम्म गठबन्धन गरेर चुनाव लड्ने जनाएका छन् ।

गठबन्धन गर्दा मेयर एमालेलाई र उपमेयर लोसपालाई दिने सहमति भएको दुवै पार्टीले आज संयुक्त पत्रकार सम्मेलन गरेर जानकारी दिए । 

"महानगरवासीको हरेक दु:ख र सुखमा सहभागी हुँदै आएका यी दुई पार्टीले सथानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुखमा एमाले र उप-प्रमुखमा लोसपा नेपालको नेतृत्व रहने  छ । वडाको सम्बन्धमा आपसी सम्झदारीमा उम्मेदवार टी गरिने छ," जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

समृद्ध वीरगञ्जको सपनालाई साकार पार्न र वीरगञ्जवासीको हित, प्रगति, पूर्वाधार विकास र राजनीतिलाई जनसेवाका लागि सदुपयोग गर्न उद्देश्यले गठबन्धन गरिएको दुवै पार्टीको भनाई छ ।  

तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् ।

यता, लोसपा वीरगञ्ज महानगर कमिटिले नगरमा कुनै पनि पार्टीसँग गठबन्धन नभएको जनाएको छ । महानगर कमिटिका अध्यक्ष ओमप्रकाश सर्राफले यात्राडेलीसँग टेलिफोनमा कुरा गर्दै आफ्नो सहमति र इच्छा विपरित पार्टीका केही मण्डले तत्वहरुले एमालेसँग गठबन्धन गरेको आरोप लगाए ।

"हाम्रो यस गठबन्धनसँग आपत्ती छ । एमालेको इसारामा चल्ने पार्टी भित्रका केही मण्डले तत्वहरुले गरेको निर्णयलाई हामी मान्दैनौं । लोसपा एक्लैले महानगरमा निर्वाचन लड्ने क्षमता राख्छ," सर्राफले भने ।

Back to top